काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । “इन्साइट ल्याण्डर” नाम दिइएको अन्तरिक्ष यान नेपाली समयअनुसार आज बिहान १ बजेर ३८ मिनेट जाँदा मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको हो । मंगल ग्रहको जमिन र आन्तरिक भागको अध्ययन गर्ने लक्ष्यसहित नासाले “इन्साइट ल्याण्डर” नामक अन्तरिक्ष यान पठाएको हो ।

यो यानको रोबोर्टले ग्रहको भित्री क्षेत्रका बारेमा अध्ययन गर्ने छ । पृथ्वीपछि पहिलो पटक अरु कुनै ग्रहको यस्तो अध्ययन हुन लागेको यो पहिलो पटक हो । मंगलमा अवतरणका लागि सात मिनेट निकै महत्वपूर्ण मानिएको थियो । यसका लागि यानले आफ्नो गती २० हजार किलोमिटर प्रतिघण्टासम्म कम गर्नुपर्दथ्यो ।

इन्साइटले मंगल ग्रहबारे यस्ता जानकारी दिनसक्छ जुन अर्बौं वर्षदेखि पत्ता लाग्न सकेको छैन । आफ्नो अभियानको क्रममा यो यानले मंगलग्रहमा एउटा साइज्मोमिटर राख्नेछ जसले यसभित्रको हलचल रेकर्ड गर्नेछ । यसले मंगल ग्रहभित्र भूकम्पजस्तो कुनै हलचल हुन्छ कि हुँदैन भनेर पत्ता लगाउनेछ ।

यो पहिलो यान हो जसले मंगलग्रहलाई खनेर यसबारे रहस्यमयी जानकारी जुटाउनेछ । साथै, एक जर्मन उपकरण पनि मंगल ग्रहको जमिनको पाँच मिटर मुनी गएर तापक्रमबारे जानकारी दिनेछ । ग्रहको यो तापक्रममार्फत मंगल अहिले पनि कति सक्रिय छ भन्नेबारे पत्ता लाग्नेछ । यसको तेस्रो प्रयोगमा रेडियो ट्रान्समिशनको प्रयोग हुनेछ जसमार्फत यो ग्रह आफ्नो अक्षरेखामा कसरी घुम्छ भनेर पत्ता लाग्छ ।

यो अभियानसँग सम्बन्धित एक वैज्ञानिक सुजेन स्म्रेकर भन्छिन्,“तपाईं एउटा काँचो र पाकेको अण्डा लिनुहोस् । दुबैलाई घुमाउँदा त्यो भिन्न तरिकाले घुम्छ किनभने त्यसभित्रको तरल पदार्थ भिन्न हुन्छ । आजसम्म हामीलाई थाहा छैन कि मंगलभित्र तरल पदार्थ छ कि ठोस् छ । साथै, यसको भित्री भाग कति ठूलो छ त्यो पनि थाहा छैन । इन्साइटले हामीलाई त्यो जानकारी उपलब्ध गराउनेछ ।”

अब रोबोर्टले मंगल ग्रहका बारेमा प्राप्त जानकारी पठाउने छ । क्यालिफोर्नियामा रहेको नासाको यो मिसन कन्ट्रोल गर्ने जेट प्रोपुल्सन ल्याबोरेटरीमा रोबार्ट मंगल ग्रहमा अवतरण भएको खुशीयाली मनाइएको छ । नासाले यो दिन उत्कृष्ट रहेको बताएको छ । अब वैज्ञानिकहरु यो अन्तरिक्ष यान पूर्णरुपमा ठीक रहेको जानकारीको प्रतिक्षामा छन् ।

साथै यानले पठाउने त्यहाँ वरपरका तस्बिर र सन्देशको पनि प्रतिक्षा गरिरहेका छन् । इन्साइट ल्याण्डरले यी सबै जानकारी अबका केही घण्टाभित्रै पृथ्वीमा पठाउने सम्भावना रहेको वैज्ञानिकहरु बताउँछन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो अभियानमा संलग्नहरुलाई बधाइ दिएका छन् । एजेन्सीको सहयोगमा

सम्बन्धित खबरहरु