काठमाडौं । आफ्नो समयमा चार सुपरस्टार राजेश हमाल, विराज भट्ट, निखिल उप्रेती र रमित ढुंगाना पहिलो पटक एकसाथ क्यामेराको फ्रेममा अटेका छन् । पछिल्लो समय अभिनय क्षेत्रबाट केही टाढा देखिएका चारै सुपरस्टारको भेट केही दिन अगाडि नेपालगञ्ज विमानस्थलमा भएको हो । उनीहरुको भेट हुनु संयोग मात्र थियो वा अन्य कारण त्यो भने खुल्न सकेको छैन । काम विशेषले नेपालगञ्ज पुग्ने क्रममा चार अभिनेताको एयरपोर्टमा जम्काभेट भएको बुझिएको छ । भेटपछि उनीहरुले विमानस्थलको विशिष्ट कक्षमा सामुहिक तस्बिर खिचाएका छन् । तस्बिरमा उनीहरुलाई खुसी मुद्रामा देख्न सकिन्छ ।


मोवाइलको क्यामेरामा कैद भएको तस्बिर अभिनेता विराजले आफ्नो आधिकारिक फेसबुकमा साझेदार गरेका छन् । तस्बिरसँगै क्याप्सनमा उनले अभिनेता हमाललाई आफ्नो गुरु भनेका छन् भने निखिल र रमितलाई साथी भनेर सम्बोधन गरेका छन् । वर्षौदेखि “कोल्ड वार” चलिरहेको चर्चाका बीच निखिल र विराजको जम्काभेटले यस्तो आकंलन गर्नेहरुलाई गलत्त सावित गरेको छ । जम्काभेट भएका चार अभिनेतामध्ये राजेश, विराज र रमितले “हामी ट्याक्सी डाइभर”, “डर” नामक फिल्ममा एकसाथ काम गरेका थिए ।

राजेश र विराजले “दादागिरी”, “कवच” लगायतका फिल्ममा सँगै काम गरेका थिए । विराज र रमितले भने साथमा “दुर्गा”, “सहारा”, “हिम्मत”, लगायत चलचित्रहरुमा साथमा अभिनय गरेका छन् । रमित र राजेशलाई फिल्म “जीवनदाता” मा साथ देखिएको थियो । यस्तै, अभिनेताद्वय राजेश र निखिलले “निखिल दाई”, “दशगजा”, “चोर सिपाही”, लगायतका फिल्ममा एकसाथ काम गरेका थिए । “जीवन मृत्यु”, “बरमाला” लगायतका फिल्ममा निखिल र रमितको जोडी थियो । विराज र निखिल भने “दोस्ती”, “खलनायक”, “अग्नी ज्वाला” फिल्ममा आमने(सामने भएका थिए ।

सम्बन्धित खबरहरु