काठमाडौ । लामो समय देखि अस्तव्यस्त रहेको रानीपोखरीको समाधान खोजिएको छ । रानीपोखरीलाई पहिलेकैं अवस्थामा फर्काउन भक्तपुरका सिपालु कर्मीहरु काममा जुटेका छन् । प्राचीन प्रविधिबाटै पोखरी पुननिर्माण गर्न भक्तपुर नगरपालिकाले ४० जना प्राविधिक उपलब्ध गराएको छ ।

यो टोलीले करिब ५० वर्षदेखि सुकेको भक्तपुरकै भाजु पोखरीसमेत पुननिर्माण गरिरहेको छ । लामो समय देखि रानीपोखरी आधुनिक शैलीमा निर्माण गर्ने चर्चा भइरहेको थियो । तर, यो ऐतिहासिक क्षेत्र भएको हुनाले यसको इतिहास मेट्न नहुने आवाज आइरहेका थिए ।

भूकम्प गएकै वर्षको माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुननिर्माणको शिलान्यास गरे पनि अनेकन विवादमा फस्दा काम रोकिएको थियो । राष्ट्रिय पुननिर्माण प्राधिकरणले विभिन्न कामको विभाजन गर्दै सोमबारबाट कामको थालनी गरेको हो ।

त्यही क्रममा पानी तान्ने प्राचीन प्रविधिको काम उपभोक्ता समितिमार्फत हुने भएको छ भने बाँकी काम ठेकेदारको जिम्मा लगाइएको प्राधिकरणका कार्यकारी सदस्य चन्द्र श्रेष्ठले बताए । मन्दिर, पश्चिमतिरको छेउबाट मन्दिरसम्म जाने पुल र रानीपोखरी बाहिरको कामको जिम्मा ठेकेदारलाई नै गर्ने भएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु