फागुन । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयले एक हजार २०० लागुऔषध प्रयोगकर्ता बालबालिकालाई पक्राउ गरेको छ । प्रहरीले पछिल्लो १० महीनामा उनीहरुलाई पक्राउ गरेको हो । यसरी पक्राउ गरिएका बालबालिका १२ देखि १८ वर्ष समूहका छन् ।

पक्राउ गरिएका बालबालिकामध्ये नौ जनालाई सुधारगृहमा र बाँकीलाई अभिभावकको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । पुनः लागुऔषध प्रयोग गरेको पाइए अभिभावकलाई पनि कारवाही गर्ने चेतावनी दिदैं प्रहरीले बालबालिकालाई सम्झाएर पठाउने गरेको छ ।

प्रहरीले पछिल्लो दश महीनामा लागुऔषध ओसार–पसारमा संलग्न दुई महिला गरी ४२ जनामाथि मुद्दा चलाएको छ । ओसार–पसारमा संलग्न तीन वटा समूहलाई पक्राउ गरिएको छ । प्रहरीले सो अवधिमा ६८ ग्राम खैरो हिरोइन, ५९९ ट्याबलेट नाइट्रोभेट, ९८ ट्याबलेट स्पाम, १२० ट्याबलेट एबिल, ३५ हजार २०० ट्याबलेट ट्रमाडोल नामक लागुऔषध बरामद गरेको पनि छ ।

प्रहरीले लागुऔषधमा कडाइ गरेपछि मङ्सिर महीनाबाट एक–दुई जना मात्र प्रयोगकर्ता पक्राउ परेका छन् । माघ र फागुनमा एक÷एक जना मात्र पक्राउ परेको प्रहरीले जनाएको छ । ‘‘१० महीनाअघि टीकापुर क्षेत्रमा लागुऔषध व्यापक रुपमा थियो । मङ्सिरदेखि कमी आएको छ,’’ इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख नायब उपरीक्षक शिवहादुर सिंहले भन्नुभयो, ‘‘लागुऔषध यहाँको मुख्य समस्या थियो, सम्झाएर हुनेलाई सम्झायौँ, नमान्नेलाई मुद्दा चलायौँ ।’’

स्थानीय राजनीतिक दल र विद्यालयको सहयोगमा प्रहरीले नियन्त्रण गर्न सफल भएको प्रहरी नायब उपरीक्षक सिंहको भनाइ छ । ‘‘प्रत्येक विद्यालयमा गएर लागुऔषध विरुद्धको अभियान चलायौँ र भारतीय नाकामा कडाइ ग¥यौँ,’’ उहाँले भन्नुभयो, ‘‘लागुऔषध नियन्त्रणमा कमी आएपछि अपराधका घटना पनि कम भएका छन् ।’’

प्रहरीले यस क्षेत्रमा विद्यालय र विभिन्न क्लब तथा समुदायमा गरी २०० वटा लागुऔषध विरुद्धको अभियान सञ्चालन गरिसकेको छ । यस वर्ष प्रहरीले टीकापुर क्षेत्रमा शिवरात्रिको दिन भाङ बिक्री र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाएपछि स्थानीयवासी खुशी छन् । ‘‘प्रहरीले लागुपदार्थ नियन्त्रणमा देखाएको सक्रियता हामी सबै राजनीतिक दल र स्थानीयवासी खुशी छौँ,’’ समाजसेवी भुवनेश्वर अधिकारीले भन्नुभयो, ‘‘प्रहरी र जनता मिलेपछि शान्तिसुरक्षा कायम गर्न सजिलो हुँदोरहेछ ।’’ रासस

सम्बन्धित खबरहरु