काठमाडौं । अवैध लागूऔषध ल्याउदै गरेको अवस्थामा सर्लाहीको ब्रह्मपुरीबाट दुई जना युवक पक्राउ परेका छन् । सीमापारी भारतीय बजारबाट ज ३ प ५३८८ नम्वरको मोटरसाइकलमा नाइट्राभेट ट्याबलेटसहित लागूऔषध लिएर आउँदै गर्दा महोत्तरीको गौशाला नगरपालिका–५ का २१ वर्षीय राजु साह रौनियार र सोही ठाउँका २२ वर्षीय विवेक कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका–४, झिमपुलबाट पक्राउ परेका युवकहरुको साथबाट ३० थान नाइट्राभेट ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यलले जनाएको छ । लागूऔषधसहित पक्राउ परेका दुवै युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवा लगिएको छ ।

एक साता अघि सोही स्थानबाट ठूलो परिमाणमा विभिन्न किसिमका लागूऔषधसहित एक भारतीय युवक पक्राउ परेका थिए । पछिल्लो समय जिल्लाको खुल्ला सीमा नाकाबाट लागूऔषधको ओसारपसार बढेको छ ।

प्रहरीले लगातारजसो भारतबाट विभिन्न प्रकारका लागूऔषध ट्याबलेट र इन्जेक्सन लिएर आउने र यहाँबाट भारतर्फ लागूऔषध गाँजा लिएर जान खोज्ने व्यक्तिहरुलाई पक्राउ गरेपनि यसको ओसारपसारमा कमी आउन सकेको छैन् ।

सम्बन्धित खबरहरु