काठमाडौं । राजधानी काठमाडौंको कोटेश्वर चोकमा शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद बस्तु बम हुनसक्ने भन्दै प्रहरीले एक्कासी सवारी रोकेको हो । कोटेश्वर चोक नजिकै शंकास्पद झोला भेटिएपछि प्रहरी र नेपाली सेनाको टोली पुगेको छ ।

शंकास्पद वस्तु भेटिएको र त्यसको पहिचान गर्ने काम भइरहेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गोविन्द काफ्लेले जानकारी दिए । कोटेश्वर चोकदेखि तीनकुनेतर्फ सडकदेखि बाहिर मिनी ट्रकहरु पार्क गरी राख्ने ठाउँमा शंकास्पद झोला भेटिएको हो ।


शंकास्पद ब्याग भेटिएको छ, हामी पहिचान गर्दैछौं’ उनले भने । नेपाली सेनाको बम डिस्पोजल टोली पनि घटनास्थल पुगेको छ । शंकास्पद वस्तु भेटिएका कारण प्रहरीले तीनकुनेदेखि कोटेश्वर चोकतर्फ जाने सडक खाली गराएको छ । ती गाडीहरुलाई तीनकुने र कोटेश्वर चोकमा रोकिएको छ ।

कोटेश्वरबाट तीनकुनेतर्फ आउने गाडीहरु भने चलेका छन् । शंकास्पद वस्तु भेटिएपछि कोटेश्वर–भक्तपुर हुदै चल्ने सवारी साधनलाई तिनकुने र कोटेश्वर चोकबाटै डाईभर्सन गरिएको छ । ट्राफिक प्रहरीले कोटेश्वर चोक हुँदै चल्ने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

सार्वजनिक यातायातको आवागमन सहज बनाउने प्रयास गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । तर कार्यालय समय भएकाले सवारीका चापका कारण अहिलेसम्मकै कडा जाम भएको छ ।

सम्बन्धित खबरहरु