काठमाडौं । भारतले कोसी बाँध खोल्दा नेपाल तर्फका ३ सय सर्वसाधारण वेपत्ता भएका छन् ।

कोसी नदीको बहाव पश्चिमी तटबन्धतर्फ फर्काउने क्रममा भारतीय पक्षले कोसी नदीमा वनाएको प्यालट च्यानलमा शुक्रवार अबेर एक्कासी पानी छोडदा नेपाल तर्फका झण्डै ९० परिवारका करिब ३ सय सर्वसाधारण पछिल्लो २४ घण्टा देखि वेपत्ता भएका हुन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१२ गोबरगाढाका ९० परिवार पछिल्लो २४ घण्टादेखि सम्पर्कविहीन अवस्थामा रहेको नगरपालिकाका मेयर शैलेशकुमार साहले जानकारी दिनुभयो ।

साहले भन्नुभयो, ‘वस्तीको पश्चिम तर्फवाट करिब १७ किलोमिटर लामो प्यालट च्यानल खनिएको थियो, उक्त च्यानलमा पानी छोडदा स्थानिय स्तरमा पूर्व जानकारी गराउनु पर्ने हो तर शुक्रवार साँझ भारतीय पक्षले एक्कासी पानी छोडेपछि यस्तो अवस्था आएको हो ।’

आपत्कालीन वचावका लागि राखिएको नगरपालिकाको २ थान डुंगासहित झण्डै आधा दर्जन डुंगाहरु समेत नदीले वगाएर लगेको छ । स्थानीयहरुका अनुसार गाउँलेहरुले संकलन गरेर राखेको काठ दाउरा, घर वनाउन प्रयोग गरिने खडही सहित केही पशु चौपाया समेत नदीको वेगले वगाएको छ ।

यद्यपि यसवारे आधिकारीक तथ्यांक भने नआइसकेको मेयर साहले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘हामी सम्पर्कको प्रयासमा छौ, केही स्थानीयहरुसँग फोनमा कुराकानी भए पनि एक्कासी नदीको वहावले सिंगो वस्तीनै घेरीए पछि त्यहाँ सम्म पुग्न वा त्यहाँ फसेकाहरुलाई निकाल्न सक्ने काम गाह्रो नै छ ।’

उहाँले अगाडी थप्दै भन्नुभयो, ‘मानवीय रुपमा हताहातको सम्भावना अहिले सम्म देखिएको छैन, तर अवस्था यस्तै रहियो भने झन् विकराल स्थिती सृजना हुन सक्छ ।’ कोसी नदीमा भारतीयहरुको मनपरी पराकाष्ठा नाघेको मेयर साहको प्रतिक्रिया छ । कोसी सम्झौता अनुसार कोसीमा भारतीयहरुलाई आफु अनुकुल काम गर्ने अधिकार छ ।

 

सम्बन्धित खबरहरु