काठमाडौ । नेपाली निर्माण जगतमा पप्पु कन्स्ट्रक्सन निक्कै बदनाम बनिरहेको छ । उसको कार्यका कारण आज बदनाम भइरहेको हो । राजधानी काठमाडौंको तिनकुनेस्थित बागमती पुलमा लापरपबाही गरेपछि कारबाहीका लागि सिफारिस भएको एक हप्ता नपुग्दै पप्पु कन्स्ट्रक्सनको अर्को बदमासी सार्वजनिक भएको छ। निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने समयसमेत गुज्रिसक्दा पप्पुले पर्सा जिल्लामा निर्माणाधीन तिलावे पुल अलपत्र पारेको पाइएको छ।

आइतबार संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का नेतृत्वको टोलीले तिलावे पुलको स्थलगत अवलोकन गरेको छ। अवलोकन टोलीमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई पनि सहभागी थिए।

स्थलगत अवलोकनबाट पप्पुले पुल निर्माणमा चरम लापरबाही गरेको स्पष्ट देखिएको सभापति खड्काले बताइन्। प्रमुख जिल्ला अधिकारी भट्टराईले एक हप्ताभित्र पुलको पाइल्स निर्माण गरी अस्थायी आवतजावतको व्यवस्था नगरे कारबाही गर्ने चेतावनी दिए।

सभापति खड्का नेतृत्वको टोलीले रौतहटको सन्तपुर पिपरा गौर सडकअन्तर्गत चेतनगर सडकको पनि अनुगमन गरेको थियो। उक्त सडकमा कमसल कालोपत्रे गरिएको गुनासो आएपछि अनुगमन गरिएको जानकारी दिइएको छ। अनुगमनका क्रममा कालोपत्र गरिएको सडक कमजोर देखिएकाले तत्काल प्राविधिक परीक्षण गरी दोषीउपर कारबाही गर्न सभापति खड्काले हुलाकी सडक आयोजनालाई निर्देशन दिएकी छिन्।

सम्बन्धित खबरहरु