काठमाडौ । घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति नायब सुब्बाका नाममा जम्मा गरेको खुलेको छ । आयुक्त पदको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति पाठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत नासु ललितकुमार झाका नाममा राखेको पाइएको हो । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगमा बयान दिएका झाले डेढ करोडभन्दा बढी सम्पत्तिको स्रोत खुलाउन सकेका थिएनन् । स्रोत नखुलेको सम्पत्ति झाले पाठकमार्फत आर्जन गरेको अनुसन्धान अधिकृतको दाबी छ ।

यस्तै, इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड वितरण कार्यक्रम काठमाडौँमा गर्न नेपालले पैसा दिने भन्ने समाचारप्रति आफ्नो ध्यानार्कषण भएको जनाउँदै नेपाल पर्यटन बोर्डले अहिलेसम्म पैसा दिने सम्झौता नभएको स्पष्ट पारेको छ । तर यस्ता कार्यक्रम गर्दा आर्थिक सहयोग नगरे पनि नहुने आशयसमेत बोर्डको छ । एक सातायता नेपालका विभिन्न समाचार माध्यममा आइफा अवार्डका लागि नेपाल सरकारले एक अर्ब लगानी गर्न लागेको समाचार प्रकाशित भइरहेका छन् । बोर्डले नेपलमा आइफा आवर्ड आयोजनाका लागि सरोकारवाला पक्षसँग विभिन्न चरणमा छलफल भए पनि रकमै दिनेगरी सम्झौता भने भइनसकेको दाबी गरेको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

सम्बन्धित खबरहरु