काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न क्षेत्रका राजमार्ग अबरुद्ध बनेका छन् । सडकमा पहिरो खसेका कारण राजमार्ग अबरुद्ध बनेको हो । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार काभ्रेमा बीपी राजमार्गमा सवारी चल्न सकेका छैनन् भने पूर्वपश्चिम राजमार्ग अन्तरगत सर्लाही खण्डमा बाटोमा पानी आएर साना गाडी नचल्ने अवस्थामा छन् ।

पूवपश्चिम राजमार्गकै सनुसरी रामधुनी ६ मा पनि सडक अबरुद्ध छ । धनकुटा पाख्रिवाट९७, उदयपुरको रौतामाई गाइघाट, खोटाङ हलेसी९चुवाचुङ सडकखण्ड पनि ठप्प रहेको जनाइएको छ । ओखलढुंगाको मनेमञ्ज्याङ ७, सिन्धुलीको गोलञ्चोर ५ र रामेछापको मन्थली ६ मा अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ललितपुरको महाकाल हेटौंडा राजमार्ग, कान्तिपथ र त्रिभुवन पथ पनि अबरुद्ध छ । लम्जुङ मनाङ राजमार्गमा पनि सवारी चल्न सकेका छैनन् । मुलुकभर बाढी र वर्षाको क्षतिका विवरण आउन थालेपछि गृह मन्त्रालयले सुरक्षा साथ बस्न सर्वसाधारणलाई अपिल गरेको छ । गृहका अनुसार बाढी र वर्षा सम्बन्धी पूर्वसूचना सम्भावित क्षेत्रमा विहानदेखि नै एसएमएसमार्फत पठाइएको थियो ।

स्थानीय प्रशासन, सुरक्षा निकाय लगायतलाई सम्बन्धित क्षेत्रमा उच्च सतर्कताका साथ काम गर्न पनि गृहले निर्देशन दिएको छ । साथै, आपतकालीन उद्दारका लागि हेलिकोप्टर पनि तयारी अवस्थामा राखिएको छ । अविरल वर्षाका कारण अहिलेसम्म मुलुकभर ११ जनाको मृत्यु भइसकेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् ।

घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुश्का घाइते छन् । रामेछापमा पनि पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । भोजपुरमा पनि पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई छन् ।

टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको स्थानीय अनिल कुमार राईले बताए । ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । खोटाङमा ३ जना बेपत्ता रहेका पनि जनाइएको छ । पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उत्तरी मकवानपुरको थाहा नगरपालिका – ३ मा महाभीर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको मृत्यु भएको छ । काठमाडौंको मुलपानीमा पनि पहिरोले पुरिएर एकैपरिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् ।

सम्बन्धित खबरहरु