काठमाडौ । नेपालको राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसले लामो समय सत्ता सम्हालेको छ । अहिलेका कांग्रेस सभापति शेरबहादुर देउवा ४ पटकसम्म देशको सर्वोच्व पद प्रधानमन्त्रीमा बसेर देश सञ्चालनको जिम्मा पनि पाउँनु भएको छ । नेपालमा जो जति पटक सत्तामा आएपनि तराईका जनताको आम समस्याको रुपमा रहेको डुबान कम हुने वा रोकिने अवस्था देखिएको छैन ।

अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओली भैरहँदा सरकारका मन्त्रीहरुले नै तराईका बाढी, डुबानको समस्या भारतको कारणले भन्दा पनि नेपालका कारण समस्या भएको बताउँदै आइरहेका छन् । यो बीचमा कूटनीतिक पहल नगर्दा तराईमा बाढी तथा डुबानले बढी क्षति गरेको प्रमुख प्रतिपक्षी दलका नेता देउवाको ठहर छ । उहाँले प्रेस युनियन इटहरी नगरसमितिले आज बिहान इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारले भारतसँग कूटनीतिक पहल गर्न नसकेको आरोप लगाउनु भएको छ ।

तराईका डुबान तथा बाढीले प्रभावित जिल्लाको निरीक्षणमा जानु भएका देउवाले बाढी पीडितको उद्धार तथा राहतमा सरकारले ध्यान नदिएको समेत जिकिर गर्नुभयो । तराईका डुबानग्रस्त क्षेत्र अवलोकनका क्रममा पीडिहरुको विचल्ली भएको बताउँदै देउवाले राहतका लागि संसदमा आवाज उठाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले पीडितहरुको राहत र पुनस्र्थापनामा प्रतिपक्षी दलको हैसियतमा सहयोग गर्ने घोषणा गर्नुभयो । देउवाका अनुसार कांग्रेस संसदीय दलको निर्णयअनुसार संघीय सांसदहरुले पाँच दिनको र प्रदेश सांसदहरुले १० दिनको तलब दिने निर्णय भएको छ ।

सम्बन्धित खबरहरु