काठमाडौं । पछिल्लो पुस्ताका नेपालीहरुलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा समय व्यतित गर्ने फुर्सदिला युवाहरुको आफूलाई चिन्ता भएको बताउनु भएको हो ।

संविधान दिवसको अवसरमा आज टुँडिखेलबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मलाई थोरै चिन्ता केही फुर्सदिलो युवा पंक्तिको पनि छ, जसको ऊर्जा रचनात्मक सिर्जनामा भन्दा बढी सामाजिक सञ्जालमा विना मुद्दाका विषयवस्तुमा हुने परिणामहीन बहसमा व्यतीत भइरहेको छ ।’

उहाँले अहिले मुलुकमा ३४ वर्ष मुनिको जनसंख्या ६५.५ प्रतिशत रहेको उल्लेख गर्दै जनसांख्यिक लाभको अवस्थामा मुलुक रहेको विचार राख्नुभयो । उहाँले भन्नुभयो, ‘युवा पंक्ति छिप्पिनु अघि विकासको तीब्र गतिको दौड पूरा गर्नुपर्छ ।

मलाई गर्व ती युवा पंक्तिप्रति छ, जसले विभिन्न इनोभेटिभ प्रयासहरु थालेका छन् । कतिले वस्तु उत्पादनबाट, कतिले सेवा सिर्जना गरेर समाजलाई गुन लगाइरहेका छन् ।’

प्रधानमन्त्री ओलीले सम्बोधनमा भन्नुभयो, ‘मलाई चिन्ता एउटा हुर्किएको पुस्ताको पनि छ, जो समाजसँग संस्कार र सकारात्मक अनुभव साटासाट गर्न चुकिरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

‘क्रिटिकल अप्रोच’को नाममा सार्वजनिक प्लेटफर्मबाटै प्रवाहित उनीहरुका अभिव्यक्ति घृणा, द्वेष, अशिष्टता र परपीडनको भाषा बोल्न सिङ्गो समाजलाई प्रेरित गरिरहेको होकी जस्तो भान हुन्छ ।’ उहाँले उश्रृङ्खलता र अराजकता नभई सामाजिक सद्भाव, आपसी एकता र सहिष्णुता आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सम्बन्धित खबरहरु