काठमाडौ । धुलिखेल–बर्दिवास सडकखण्डमा अब सवारी साधन केही समय राख्न र रोक्न (पासिङ जोन) निर्माण गरिने भएको छ । एक लेन चौडाइको सो सडकमा एउटा सवारीसाधन बिग्रिँदा अथवा रोकिएर रहँदा सवारीसाधन आगमन ठप्प हुने अवस्थालाई अन्त्य गर्न ठाउँ–ठाउँमा पासिङ जोन निर्माण गर्न लागिएको हो ।

एक सय ६० किमि सडकमा चार पाँच सय मिटरको दूरीमा जोन निर्माण गर्ने गरी योजना बनाइएको आयोजना व्यवस्थापक सूर्यबहादुर भाटले जानकारी दिए । उनका अनुसार चार खण्डमा विभाजित सडकमा सबैभन्दा साँघुरो भागका रुपमा खुर्कोट–नेपालथोक रहेको छ । उनले भने, ‘चौडाइ बढी भएकोभन्दा कम चौडाइको सडकमा बढी आवश्यक देखिएको छ ।’

साँघुरो सडकमा पछिल्लो समय सवारी चाप बढिरहेको हुँदा यसको विकल्पको खोजी शुरु गरिएको हो । बिसाउन र रोक्न मिल्ने स्थान भएकैमा सवारीसाधनले उछिन्ने पनि गर्न सक्छन् । सडक विस्तारको तयारी अघि बढिरहँदा ‘जोन’ पनि तयारी भएको हो । आयोजना व्यवस्थापक भाटले भने, ‘सडकको बढी साँघुरा स्थानमा जोन निर्माणको योजना बनाइएको हो ।’

सडक विभागले अन्य राजमार्गमा पनि पासिङ जोन निर्माण गर्दै जाने नीति बनाएको छ । निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा पनि बिसाउन र रोक्न मिल्ने स्थानसमेत डिजाइनमा छ ।

मुख्य सुरुङमार्गमा तीन वटा सवारीसाधन सहज आवतजावत गर्न सक्ने र एउटा गाडी बिग्रँदा पनि दुई वटै गाडी चल्न सक्नेछन् । सहायक टर्नेल तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्नेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु