जोनाथन एमोस, बीबीसी विज्ञान सम्वाददाता । खगोलशास्त्रीहरूले पृथ्वीसँग सबैभन्दा नजिक रहेको एउटा सम्भावित ब्ल्याक होल (कृष्णविवर) पत्ता लगाएका छन् । त्यो झन्डै १,००० प्रकाशवर्ष टाढा 'टेलिस्कोपीअम' नामक नक्षत्रमण्डलमा छ। अर्थात् पृथ्वीबाट झन्डै ९,५०० खर्ब किलोमिटर पर। हामीलाई यो दूरी एकदमै धेरै हो जस्तो लाग्न सक्छ। तर ब्रह्माण्डको विशालतामा त्यो ठाउँ पल्लो घरजस्तै हो।

 

दुइटा तारासँग गरेको अन्तर्क्रियाको शैलीका आधारमा उक्त ब्ल्याक होल पत्ता लागेको हो। ती तारामध्ये एउटाले ब्ल्याक होलको परिक्रमा गर्छ भने अर्कोले भित्री भागको। प्रायः ग्यास र धूलोको मण्डलसँग हुने बलशाली अन्तर्क्रियाका आधारमा ब्ल्याक होल पत्ता लगाइन्छ। तिनले त्यस्ता पदार्थ छर्दा ठूलो परिमाणमा एक्स-रे उत्सर्जित हुन्छ। उच्च मात्रामा ऊर्जा हुने त्यस्तो सङ्केतलाई दूरबिनले पत्ता लगाउँछ, सोझै ब्ल्याक होललाई हैन।

[caption id="attachment_271218" align="aligncenter" width="660"] ESO/L.CALÇADA HR 6819 को काल्पनिक चित्र। रातो देखाइएको ब्ल्याक होललाई नीलो देखिने भित्री र बाहिरी ताराहरूले परिक्रमा गर्दै गरेको दृश्य।[/caption]

 

कसरी पत्ता लाग्यो?
तसर्थ यो अस्वाभाविक उपलब्धि हो। संयुक्त रूपमा एचआर ६८१९ (HR 6819) भनिने ताराहरूको चालले उक्त ब्ल्याक होल पत्ता लगाउन सम्भव भएको हो। "तपाईँ यसलाई 'डार्क ब्ल्याक होल' भन्न सक्नुहुन्छ। यो वास्तवमै कालो छ," जर्मनीस्थित युरोपियन सदर्न अब्जर्भेटरी (ईएसओ) सँग सम्बद्ध खगोलविद् डीट्रिश बाडेले भने।

 

"हामीलाई यो तरिकाले ब्ल्याक होल पत्ता लगाइएको यो पहिलो चोटि हो जस्तो लाग्छ। त्यति मात्र हैन - यो सबैभन्दा नजिकै पत्ता लागेको ब्ल्याक होल पनि हो," उनले बीबीसी न्यूजलाई बताए। अझ चाखलाग्दो कुरा के हो भने HR 6819 नाङ्गो आँखाले हेर्दा पनि देखिन सक्छ। दूरबिन वा अन्य कुनै उपकरण आवश्यक पर्दैन। तर त्यसका लागि दक्षिणी आकाश देखिनुपर्छ। यद्यपि उक्त तारामण्डल सूर्यभन्दा पछाडिबाट आउने भएकाले अहिले त्यो हेर्न त्यति सहज छैन। वैज्ञानिकहरूले HR 6819 को अध्ययन धेरै वर्षअघि थालेका थिए। तर विविध कारणले पूरा हुन सकेको थिएन।

 

कति ब्ल्याक होल छन्?
चिलीस्थित एउटा वेधशालामा भएको २.२ मिटर लामो दूरबिन प्रयोग गरी भएका अध्ययनहरूमा देखिने दुइटामध्ये भित्री ताराले कुनै अदृश्य वस्तुलाई प्रत्येक ४० दिनमा परिक्रमा गरेको पत्ता लागेको थियो। ब्ल्याक होल भएको मानिएको उक्त खगोलीय पिण्डको द्रव्यमान हाम्रो सूर्यको चारगुनाजति हुनसक्छ। 'मिल्की वे' भनिने हाम्रो आकाशगङ्गामा खगोलशास्त्रीहरूले दुई दर्जनवटा ब्ल्याक होल पत्ता लगाएका छन्। तर तथ्याङ्कशास्त्रका आधारमा विचार गर्दा अनगिन्ती ब्ल्याक होल भएको अनुमान छ। "आकाशगङ्गामा झन्डै १० करोडवटा ब्ल्याक होल छन् भन्ने अनुमान छ। त्यसैले अरू केही योभन्दा (पृथ्वीको) नजिक हुनसक्छन्," ईएसओमा अनुसन्धान गरिरहेकी मारिएन हेइडाले भनिन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु