बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार राति १० बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमणको दर उच्च भइरहँदा पनि ‘लकडाउन’को उल्लंघन नरोकिएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रशासनले अत्यावश्यकबाहेकका सेवाहरु पनि बन्द गराएको जानकारी गराएको छ । बुधबारमात्र बाँकेमा १६ जना संक्रमित थपिएका छन् ।

दाङका कोरोना संक्रमित १८ जना भारतबाट
दाङ जिल्लामा आज कोरोना संक्रमण पुष्टि भएका सबै व्यक्ति भारतबाट फर्किएका हुन् । दाङमा आज कोरोना संक्रमित पुष्टि भएका १५ जनासहित जिल्लामा संक्रमितको सङ्ख्या १८ पुगेको छ । उनीहरु सबै विभिन्न मितिमा भारतबाट फर्किएका हुन् ।

 

जिल्लास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाव परीक्षणबाट आज एकै दिन कोरोना पुष्टि भएका १५ जनामध्ये घोराही उपमहानगरपालिकाका सात र लमही नगरपालिकाका आठ जना छन् । घोराही १० र १८ ले निर्माण गरेको क्वारेन्टिनमा बसेका सात संक्रमित सबै भारतको नयाँदिल्लीबाट यही जेठ ९ गते फर्किएको उपमहानगरका प्रवक्ता भरतमणि अर्यालले जानकारी दिनुभयो । उनीहरुलाई कपिलवस्तुको कृष्णनगर नाकाबाट उपमहानगरपालिकाले ल्याएर सीधै क्वारेन्टिनमा राखी स्वाब परीक्षणमा पठाइएको बताइएको छ ।

 

संक्रमण पुष्टि भएका सातै जनाको अवस्था सामान्य रहेको र उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डीको आइसोलेशनमा लगिएको घोराही उपमहानगरपालिका कोरोना फोकल पर्सन विकेश रेग्मीले जानकारी दिनुुभयो । यस्तै लमही नगरले जेठ ९ गते २२ र ११ गते ४७ जनाको स्वाब परीक्षणका लागि प्रतिष्ठानमा पठाएकामध्ये आज कोरोना संक्रमण पुष्टि भएका आठ जना पनि भारतका विभिन्न ठाउँबाट फर्किएका व्यक्ति रहेको नगरपालिकाले जनाएको छ । संक्रमितमध्ये वडा नं १ का २३ वर्षीय पुरुष तथा वडा नं २ का ३० र १७ वर्षीय पुरुष जेठ ९ गते हैदरावादबाट कृष्णनगर नाका हुँदै लमही आएका थिए । यस्तै वडा नं ४ का २६ वर्षीय पुरुष राजस्थान र वडा नं ५ का २० वर्षीया महिला तथा २० र २३ वर्षीय पुरुष पनि भारतका दार्जिलिङ, पञ्जाब र दिल्लीबाट आएका हुन् ।

 

लमही नगर प्रमुख कुलबहादुर केसीका अनुसार दार्जलिङबाट आएकी २० वर्षीया विद्यार्थी भारतको सिलगुडी हुँदै नेपालको झापाबाट धरान आएको र धरानबाट दाङका ५० जनाभन्दा बढी मिलेर गाडी रिजर्भ गरेर दाङ आएका हुन् । ती महिलासँगै घोराही, तुलसीपुर र भालुवाङका यात्रु पनि संँगै आएको महिलाले दिएको जानकारीबाट खुलेको उहाँले बताउनुुभयो । वडा नं ८ का अर्का २३ वर्षीय पुरुष भने दिल्लीबाट आएका थिए ।

 

संक्रमित सबैलाई उपचारका लागि कोरोना अस्पताल बेलझुण्डी पु¥याइएको नगर प्रमुख केसीले बताउनुुभयो । यसअघि घोराहीमा भेटिएका कोरोना संक्रमित पनि दिल्लीबाट कृष्णनगर हुँदै जेठ ३ गते दाङ आई सोझै कुइरेपानी क्वारेन्टाइनमा बसेका थिए । समुदायमा हेलमेल नभएकाले सामुदायिक संक्रमण नभए पनि उनीहरुसँग गाडीमा अरु ३२ जना आएकाले सबैको परीक्षणको तयारी रहेको घोराही उपमहानगरले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु