रामशरण गिरी, वाल्मीकि आश्रमस्थित हरिहर मन्दिरको पुजारी । माडीको अयोध्यापुरी क्षेत्रमा वाल्मीकि आश्रम छ । वाल्मीकिले यही क्षेत्रमा तपस्या गर्नुभएको हो, यहीँ बसेर रामायणको रचना गर्नुभएको हो । त्यसैले यहाँ उहाँको आश्रम मात्र होइन, समाधि पनि छ । वाल्मीकिको आश्रम यही हो भन्नेमा विवाद छैन । देशको प्रधानमन्त्रीले रामजन्मभूमि पनि यही हो भनेपछि केही आधार होला । सरकारले अध्ययन–अनुसन्धान गरोस् भन्ने हाम्रो अनुरोध छ ।

 

 

खासमा यो कथा यो युगको होइन, त्रेता युगको हो । त्रेता युगमा नेपाल, भारत, बंगलादेश भनेर देश नै थिएनन् । त्यसैले त्यो वेला यस्तो विवाद हुने कुरा भएन । तर, राम जन्मेको ठाउँ उत्तरप्रदेशको अयोध्या र सीता जन्मेको ठाउँ नेपालको जनकपुरमा पर्छ भन्ने मान्यता रहिआएको छ । त्यसैगरी वाल्मीकिले रामायण लेखेको ठाउँ माडीको अयोध्यापुरी क्षेत्र हो । रावणको अपहरणबाट मुक्त भएर अयोध्या फर्किएपछि सीतामाथि समाजले लान्छना लगायो । सामाजिक प्रतिष्ठा जोगाउन रामले सीतालाई फेरि वनवास पठाउनुभयो ।

 

लक्ष्मणले सीतालाई वाल्मीकि आश्रमसम्म ल्याएर छाड्नुभयो भन्ने हाम्रो मान्यता छ । वाल्मीकि आश्रममा आउँदा सीता गर्भवती हुनुहुन्थ्यो, आश्रममै उहाँले लव–कुशलाई जन्म दिनुभयो । पछि रामले अश्वमेघ यज्ञ गरेर घोडा छोड्नुभएको थियो । त्यो घोडा कसैले समात्न सकेनन्, लव–कुुशले नियन्त्रणमा लिएर वाल्मीकि आश्रममा ल्याए । यहाँ एउटा मौलो छ जहाँ घोडा बाँधिएको थियो भन्ने विश्वास छ । घोडा खोज्दै राम आएपछि लव–कुशसँग लडाइँ पनि भयो । तर, वाल्मीकि र सीताले लडाइँ समझदारी गराए । पछि छोराहरूलाई रामको जिम्मा लगाएर सीता पातालमा भासिनुभयो भन्ने कथा रामायणमा छ ।

 

पछि वाल्मीकिले पनि यहीँ समाधि लिनुभयो । समाधि पनि छ । अब राम यही पारिको अयोध्यापुरीबाट आउनुभएको थियो कि उत्तरप्रदेशको अयोध्याबाट भनेर हामी पुजारीले ठेगान लगाउन सक्ने विषय होइन । प्रधानमन्त्रीले ठेगान लगाउनुभयो भने धेरै राम्रो । तर, वाल्मीकि आश्रमलाई नै सरकारले किन यति उपेक्षा गरेको होला भन्ने हाम्रो दुःखेसो छ । बर्खामा अलिक कम भए पनि हिउँदमा हरेक दिन दुई सयदेखि पाँच सयसम्म यात्रु यो क्षेत्रमा आउँछन् । अनेक साधुसन्त आउँछन् । पूजाआजा हुन्छ ।

 

तर, सरकारले यो आश्रम सञ्चालन गर्न कुनै सहयोग गरेको छैन । यही आश्रमको मन्दिरमा मेरा बुबाआमाले पूजा गर्नुहुन्थ्यो । राजा महेन्द्रले यो जिम्मेवारी दिनुभएको थियो, राजा वीरेन्द्रको पाला पनि सहयोग थियो । तर, अहिले सरकारले पूरै बेवास्ता गरेको छ । वाल्मीकि आश्रम भनेर टाढाटाढाबाट साधुसन्त आउँछन् । तर, यहाँ एउटा शौचालय पनि छैन । साधुसन्त बस्ने ठाउँ छैन । पुजारी नै बस्ने ठाउँ छैन भने साधुसन्त कहाँ बस्ने रु हामी आफैँ पनि सुकुम्बासी बस्तीमा बसेका छौँ । तैपनि साधुसन्तलाई भोकै राख्दा पाप लाग्दा भनेर हामी आफैँले व्यवस्था गर्दै आएका छौँ । राम, सीता, वाल्मीकि र अयोध्याको विषयमा हाम्रा प्रधानमन्त्री चिन्तित हुनुहुन्छ भन्ने मैले थाहा पाएँ, कृृपया वाल्मीकि आश्रमको यो बेहाल सुनाइदिनुहोला । सायद उहाँले सहयोग गर्नुहोला । नयाँपत्रिकाबाट साभार

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु