संबिधानसभाको आजको बैठकमा सत्ताधारी दलका सभासद्हरुदले नै संविधानका विवादित विषयमा सहमति जुटाउन नसकेको भन्दै शीर्ष नेताको आलोचना गरेका छन् ।

बैठकमा संवाद समितिको प्रतिवेदनमाथि आफ्नो धारणा राख्दै सभासद्हरुले माघ ८ मा संविधान जारी गर्ने प्रतिबद्धता अनुसार काम गर्न नसकेको भन्दै शीर्ष नेताको आलोचना गरेका हुन् ।

बैठकमा काँग्रेस सभासद् दीपक गिरीले संविधानमै नरहेको व्यवस्था अनुसार प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन सक्ने तागत भएका शीर्ष नेताहरुले संविधानका विवादित विषयमा किन सहमति गर्न नसकेको भन्दै प्रश्न गरे ।

एमाले सभासद् पार्वत गुरुङले शीर्ष नेताहरुले, संविधानसभा अध्यक्ष र सभासद्लाई पटक–पटक असफल भएको भन्दै फेरि पनि असफल हुनबाट जोगाउन माघ ८ मै संविधान जारी गर्नुपर्नेमा जोड दिए ।

एकीकृत माओवादीका सभासद् टोपबहादुर रायमाझीले संविधानसभा र समितिका बैठकमा सहभागी नहुनेले शीर्ष नेता असफल भएको भन्न नमिल्ने जिकिर गरे ।

राप्रपा नेपालका सभासद् सुशीलकुमार श्रेष्ठले सहमतिका नाममा शीर्ष नेताहरुले संविधानसभा र समितिका बैठकमा ‘टाइम पास’ मात्र गरेको भन्दै आलोचना गरे ।

संविधानसभाको बैठकमा सत्ताधारी दलका सभासद्हरुले माघ ८ मा संविधान जारी गर्न अब तत्काल प्रक्रियामा जानुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित खबरहरु