माघ ८ मा संविधान जारी गर्ने दिन नजिक आउँदै गर्दा देशभर बन्द आयोजना गर्ने प्रथा फेरि सुरु भएको छ । विभिन्न माग राखेर विभिन्न पार्टीले आयोजना गरेका बन्दले नेपाली चलचित्र क्षेत्र पनि आक्रान्त बनेको छ ।
प्रदर्शन भएसँगै बन्द सुरु भएपछि शुक्रबारबाट प्रदर्शनमा आएका ३ नेपाली चलचित्र अप्ठ्यारोमा परेका छन् । काठमाण्डौ बाहिर चलचित्र ‘तथास्तु, अलबिदा र आभाष’ले बन्दको मार खेपिरहेका छन् । बन्दका कारण चलचित्रको लगानी उठ्ने संभावना कमजोर बन्दै गएको छ ।
आज काठमाण्डौ लगायत देशका विभिन्न भू(भागमा बन्द हुँदा प्रदर्शनमा आएका ३ चलचित्रले अझै मार खेपेका छन् । लाखौ लगानी गरेर बल्ल(बल्ल प्रदर्शनको पालो पाएपनि अकस्मात बन्द आयोजना हुँदा निर्माताहरु अप्ठ्यारोमा परेका हुन् ।
चलचित्र ‘अलबिदा’का निर्माता हसनराजा खानले बन्दका कारण समस्या भएको बताए । दर्शकले चलचित्र मन पराएपनि विभिन्न ठाउँमा भएका बन्दका कारण चलचित्रको लगानी उठ्न समस्या भएको उनको भनाई छ ।
माघ ८ गतेसम्म विभिन्न पार्टीले बन्दको घोषणा गरिसकेका छन् । जसका कारण पनि माघ २ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘इच्छा’को प्रदर्शन मिति पछि सर्ने संभावना बढेको छ । चलचित्र हलमा चलाउनु र नचलाउनुको कुनै अर्थ नभएकाले निर्माणपक्ष नयाँ मितिमा चलचित्र प्रदर्शन गर्ने तयारीमा समेत लागेको छ ।

सम्बन्धित खबरहरु