काठमाडौं । आइतबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण निर्णय गरेको छ । नेपालले इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले सातैवटा प्रदेशमा इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापनाका लागि इजरायलसँग सम्झौता गर्ने निर्णय गरेको कृषि मन्त्रालयका उपसचिव गङ्गा आचार्यले जानकारी दिनुभयो ।

नेपालको कृषि क्षेत्रका लागि इजरायलले प्रविधिमा सहयोग गर्ने प्रस्ताव यसअघि गरेको थियो । त्यसैको आधारमा मन्त्रिपरिषद्ले इजरायलसँग सम्झौता गर्ने निर्णय गरेको हो ।

सम्झौता गर्न इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यलाई अख्तियारी दिइएको कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले बताउनुभयो ।

यसैगरी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा.दीपक भण्डारी नियुक्त हुनुभएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले उहाँलाई नियुक्त गर्ने निर्णय गरेको उपसचिव आचार्यले जानकारी दिनुभयो ।

डा. भण्डारी यसअघि छ महिनादेखि नार्कमा कार्यवाहक कार्यकारी निर्देशक हुनुहुन्थ्यो । वरिष्ठताका आधारमा मन्त्रालयले कार्यकारी निर्देशकमा सिफारिस गरेको उपसचिव आचार्यले बताउनुभयो ।

सम्बन्धित खबरहरु