नयाँदिल्ली । भारतका तीनवटा टेलिभिजन च्यानलमाथि टेलिभिजन रेटिंग प्वाइन्ट्स (टीआरपी) हेरफेर गरेको आरोपमा छानबीन सुरु भएको छ । मुम्बई प्रहरीका अनुसार तीन वटा टेलिभिजनमा अर्णब गोस्वामीको कार्यक्रम रहेको रिपब्लिक टेलिभिजन पनि एक हुन । अर्णब गोस्वामीले आफ्नो कार्यक्रम पपुलर छ भन्ने देखाउँन अति हदसम्म गरेको खुलासा प्रहरीले गरेको हो ।

 

 

भारतीय सञ्चारमाध्यमहरुले मुम्बई प्रहरीका कमीश्नर परमबीर सिंहलाई उद्धृत गर्दै रिपब्लिक टीभी, फक्त मराठी र बक्स सिनेमामाथि उक्त आरोपमा छानबीन भइरहेको उल्लेख गरेको छ । कुन टेलिभिजन च्यानलको कार्यक्रम कति लोकप्रिय हो र कति दर्शकले हेर्छन् टीआरपीले निर्धारण गर्छ । कमीश्नर सिंहले उक्त रैकेटमा हंस नामक एक संगठनले सघाएको जानकारी दिनुहुँदै पत्रकार सम्मेलनमा विस्तृत जानकारी गराउनुभएको हो ।

 

 

टीआरपी हेरफेर गर्न मुम्बईभित्र करिब दुई हजार ब्यारोमिटर जडान गरी प्रयोगमा ल्याइएको थियो । “केही व्यक्ति घरैपिच्छे पुगेर उक्त टेलिभिजन च्यानल हेर्न आग्रह गर्दै टेलिभिजन हेरे बापत मासिक रुपमा रुपियाँ उपलब्ध गराउँदै आएका थिए ।”– उच्च प्रहरी अधिकृत सिंहले प्रष्ट्याउनुभयो । प्रत्येक घरपरिवारले टेलिभिजन हेरे बापत् मासिक चार देखि पाँच सय रुपियाँ पाउँदै आएका छन् ।

 

 

टेलिभिजन हेरे बापत् रुपियाँ पाएको घरपरिवारले प्रहरी समक्ष समेत स्वीकार गरेका छन् । दुईटै मराठी च्यानलका सञ्चालकलाई पक्राउ गरिएको छ । रिपब्लिक टीभीका सञ्चालक तथा निर्देशकलाई छिट्टै प्रहरी समक्ष बोलाइने सिंहले जानकारी दिनुभयो ।

 

 

उनीहरुले टिआरपी देखाएर ठूला व्यपारिक घरानाबाट मोटो रकममा विज्ञापन असुल्ने गरेको देखिएको छ । अर्णब गोस्वामी रहेको रिपब्लिक टेलिभिजन भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीको सिधा छायाँ रहेको बताइन्छ । उनी अत्यन्तै धेरै विवादित पत्रकार हुन् ।

 

 

 

सम्बन्धित खबरहरु