काठमाडौं । लामो समयदेखि स्वास्थ्य क्षेत्रको सुधारको मागसहित अनशनरत डा। गोविन्द केसी पक्षमा प्रदर्शन भएको छ । सरकार बिहीबार भएका सहमतिबाट पनि पछि हटेको भन्दै केसी समर्थकहरुले आन्दोलन गरेका हुन् । ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ ले सहमतिलाई सुनिश्चत गर्न भन्दै सरकारलाई दबाब दिनका लागि शनिबार (आज) काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो । अलायन्सले मुलुकका विभिन्न ठाउँमा पनि प्रदर्शन जारी राखेको जानकारी दिएको छ ।

प्रदर्शनका क्रममा सम्बोधन गर्दै डा. केसी पक्षका वार्ता टोलीका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले संवादका लागि अनशन बसेको २४ दिन भैसक्दा पनि सरकारले गम्भीरताका साथ नलिएको आरोप लगाएका छन् । बिहीबारको वार्तापछि गृहकार्यका लागि भन्दै सरकारले आफूहरुलाई बेवास्ता गरेको उनले जानकारी दिएका छन् ।

अधिवक्ता अर्यालले बिहीबारको वार्तापछि २४ घण्टासम्म त्यसै आफूहरुलाई सरकारी वार्ता टोलीले रोकेर राखेको बताए । शुक्रबार मध्यराति भएको वार्तामा पनि बिहीबार भएको सहमति पालना गर्न सक्दैनौं भनेर सरकारी वार्ता टोली पन्छिएको बताइएको छ । सरकारी पक्षलाई उदृधत गर्दै उनले भने, ‘हामीलाई माथिबाट प्राप्त म्यान्डेटअनुसार यहाँभन्दा बढी सहमति गर्न सक्दैनौं । तपाईंहरुले प्रधानमन्त्री, शिक्षामन्त्री कोसँग कुरा गर्ने हो उहाँहरुसँगै कुरा गर्नुस् भनेर उहाँहरु पन्छिनुभयो ।’

अनशनरत डा. केसीको स्वास्थ्य अवस्थामा तलमाथि भएको त्यसको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले लिनुपर्ने आन्दोलनकारीहरुले जनाएका छन् । शुक्रबारको वार्ता शिक्षामन्त्री पोखरेलले अवरुद्ध गरेको पनि अर्यालले आरोप छ । यसैबीच शिक्षामन्त्री पोखरेलले डा. केसीका मागहरुबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न सरकारी वार्ता टोली लिएर बालुवाटार गएका छन् ।

सम्बन्धित खबरहरु