काठमाडौं । नेपालमा एक दुर्लभ सर्प फेला परेको छ । दाङमा पहिलो पटक फेला परेको अर्नेट फ्लाइङ स्नेकलाई स्थानीयले सिध्याएका छन् । केही दिन पहिले घोराही उपमहानगरपालिका–२ सुर्केडाँगीमा फेला परेको उक्त सर्प स्थानीयले सिध्याएका हुन् । विगत तीन वर्षदेखि सर्पको उद्धार गर्दै आएका घोराहीका वसन्त सुवेदीले आफू पुग्दा जिल्लामा पहिलो पटक फेला परेको अर्नेट फ्लाईङ स्नेकलाई स्थानीयले सिध्याइसकेको जानकारी दिएका छन् ।

 

 

 

सर्पको लम्बाइ झन्डै डेढ मिटरसम्म लामो रहेको थियो । अंग्रेजीमा ‘अर्नेट फ्लाइङ स्नेक’ भनिने यो सर्प एउटा रूखबाट अर्को रूखमा सहजै हाम फालेरै जाने हुँदा यसलाई सर्वसाधारणले उड्ने सर्प पनि भन्ने गरेका छन् ।

 

 

जानकारी अनुसार यो सर्पले सोझै बच्चा जन्माउँने गर्दछ । अन्यथा अधिकांश सर्पले सन्तान उत्पादनका लागि अण्डा पार्छन् । हेर्दा निकै सुन्दर देखिने यो सर्प तराईका वन जंगल तथा पहाडी क्षेत्रमा पाइन्छ । पहाडको तुलनामा यो सर्प तराईमा धेरै पाइन्छ ।

 

 

 

अनौंठो सर्प देखेपछि कतिपय स्थानीयले भगवान डुमेनी सर्प भनेर पूजा गर्नुपर्ने राय पनि राखेको खुल्न आएको छ । सुवेदीले दिएको जानकारी अनुसार सर्प घरको पर्खालमा चढ्न थालेपछि त्यसले मान्छेलाई क्षति पुर्याउँछ भन्ने ठानेर स्थानीयले सिध्याएका हुन् ।

 

 

सुर्केडाँगीका एकजनाले उनलाई अनौंठो सर्प देखिएको भनेर उद्धारको लागि फोन गरेर बोलाएको भए पनि आफू बिहान ११ बजेतिर पुग्दा नबुझेर स्थानीयले सर्प सिध्याइसकेको जानकारी दिएका छन् । उनी जाँदा उक्त सर्प मृत अवस्थामा फेला परेको थियो । यो सर्प विश्वकै अनौठो प्रजातिमा पर्छ । किनकी यो सर्पले बच्चा जन्माउँछ । अरुले अण्डा पारेर अण्डाबाट बच्चा बनाएँछन् ।

 

 

 

 

सम्बन्धित खबरहरु