काठमाडौ । कालिकोट, तिला गुफा नगरपालिका–१० बस्ने कृष्ण बहादुर थापाको घरमा शुक्रबार बिहान आगलागी हुँदा उनकै ५ वर्षीय छोरा आसबिन थापाको मृत्यु भएको छ । साथै आगलागीमा परी घाइते भएकी थापाकै २ वर्षीया छोरीलाई उपचारको लागि प्रथामिक स्वास्थ्य केन्द्रतर्फ लगिएको छ ।

 

काभ्रे, मण्डनदेउपुर नगरपालिका–५ चुरिथुम्कास्थित लिलामको बालुवा प्रशोधनको लागि लगेको रिबिमा सप्लायर्सको बा.२ क ९६७४ नम्बरको स्काईभेटरमा बिहीबार राति अज्ञात समूहले आगजनी गर्दा स्काईभेटर पूर्णरुपमा जलेर क्षति भएको छ ।

 

 

यता सिराह कल्याणपुर नगरपालिका–१० रमाना बनठियाँ बस्ने रामपुकार मण्डलको प्रदेश २–०१–००१ प. ७२४९ नम्बरको मोटरसाइकलमा आगजनी भएको छ ।

 

सोही ठाउँस्थित होटल अगाडिबाट सोमबार हराएको उक्त मोटरसाइकल खोजी गर्ने क्रममा कल्याणपुर नगरपालिका–१० र १ को बीच सिमाना पर्ने नहरको खाल्डोमा आगो लगाई पूर्णरुपमा क्षतिग्रस्त अवस्थामा बुधबार फेला परेको हो । घटनामा शंकित ५ जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

यसैगरी सप्तरी, कन्चनरुप नगरपालिका–२ बरमझिया बस्ने ३५ वर्षीय मनोजकुमार यादवको सप्तरी महिला पशु फर्ममा विद्युत सर्ट भई बिहीबार राति आगलागी हुँदा फर्म तथा फर्ममा रहेको पशुको दाना समेत जलेर करिब ३० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

 

कास्की, पोखरा महानगरपालिका–१३ कञ्चनटोल बस्ने सुनिलप्रसाद घिमिरेको होमसेन्टर फर्निचर उद्योगमा शुक्रबार बिहान आगलागी हुँदा उद्योग पूर्णरुपमा जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीयबासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

सम्बन्धित खबरहरु