काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले आफुमाथि नियोजित हमला गरिएको बताएका छन् । उहाँले स्थानीय उपभोक्ता समितिको सर्वसम्मतिले निर्णय गरेर आफुलाई पुल उद्घाटनका लागि बोलाइएको भए पनि सरकारले पक्राउ गरेको बताएका छन् । यो पुल निर्माणका क्रममा आफ्नो पनि महत्वपूर्ण योगदान रहेको पौडेलको दाबी छ । आफ्नो सहयोगमा नै व्यास नगरपालिकाको सहयोगबाट निर्माण सकिएको उनले स्पष्ट पारेका हुन् ।

यसमा नेकपा सांसदको कुनै सहयोग र योगदान नभएको उनले जनाएका छन् । उनले भने, ‘पुल उद्घाटन गर्न जाने क्रममा जुन प्रकारको घटना भयो, यो तत्कालीन आवेश र आक्रोशमा भएको होइन । नियोजित रूपमा हमला गरिएको हो । प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा यो घटना भएको छ । यसलाई सामान्य मान्न सकिन्न । स्थानीय प्रशासन र प्रहरीको सुरक्षा दिने काम हो । तर प्रहरी र प्रशासनले नै मिलेर मलाई रोके ।’

उनका अनुसार स्थानीय प्रशासनले सरकारको आदेश भन्दै जे गर्‍यो, त्यो ठूलो गल्ती हो । पौडेलले पञ्चायतकालमा समेत नभएको दुर्व्यवहार आज आफुमाथि भएको बताएका छन् । उनले भने, ‘बिहीबार राजधानी आउनसमेत नसक्ने अवस्थामा छु । पार्टीले यस घटनालाई गम्भीर रूपमा लिनुपर्छ । ओली सरकारको अधिनायकवादविरुद्ध अब नउठी सुख छैन ।’

सम्बन्धित खबरहरु