kp-oli-in
कतिले तर्साउँछन्, हेरौँला, चाखौंला, रक्तपात हुन्छ, भीडन्त हुन्छ, त्यो पनि हेरौँला । तथाकथित जनयुद्ध हामीले देखेका हौँ, विभिन्न घटनाक्रम उनीहरूले मात्र देखेको होइन, हामी पनि यही धर्तीमा हेरिरहेकै छौं । हिजो लडाकू, सेना, महान् जनमुक्ति सेना, हतियार, व्यारेक, क्याम्प सबै हुँदा त टेरिएन भने अहिले अलि लामा नङ पालेको होला, त्यति न हो । यसै कुरासँग तर्सिएर संविधान नबनाउने आवश्यकता छैन ।  केपी शर्मा ओली नेपाली जनताका कमजोरी नै परिवर्तनलाई संस्थागत गर्न नसक्नु हो । हामी बहादुरी साथ लड्छौं, बेठीकलाई पराजित गर्छौं, परिवर्तन ल्याउँछौं, जनतालाई अधिकारसम्पन्न बनाउछौं ।  तर अधिकार सुरक्षित गर्न भने सक्दैनौं । ०७ सालमा राणा धपाइयो, युगान्तकारी पतिरवर्तन भयो । तर जनताको तर्फबाट राख्नुपर्ने सजगता, सतर्कता राख्न सकिएन । १० वर्षसम्मको तानातानीमा अधिकार खोसिए । ४६ सालको आन्दोलन पनि अत्यन्तै ऐतिहासिक र सफल आन्दोलन हो । जनताले असाधारण आन्दोलन गरे । तीस वर्षदेखि निरंकुश बनेको राजतन्त्रलाई पछाडि धकेले । जनतालाई अधिकारसम्पन्न बनाए । तर त्यसलाई पनि समुचित ढङ्गले संस्थागत गर्न सकिएन । आन्दोलनको मर्म, भावनाअनुसार अगाडि बढ्न सकिएन । जसले गर्दा सिद्धान्तको विषय, रोजाइको विषय, छनौटको विषय बनाएर हिंसा मच्चाउनेहरूलाई आफ्ना अधकल्चा सिद्धान्तहरू, अन्त असफल भएका खोटा सिद्धान्तहरू, यहाँ प्रयोग गर्ने मौका मिल्यो । जनताको जीवनमा परिवर्तन नआएको कारणबाट भएको असन्तुष्टिलाई प्रयोग गर्ने मौका मिल्यो । वास्तवमा फेरि पनि जनताका अधिकारहरू सुनिश्चित हुन सकेन । हिंसाको बहाना बनाएर, स्थिरता र स्थायित्वको ठेकेदार पल्टिएर फेरि राजतन्त्र आश्विन १८, माघ १९ हुँदै आयो र जनताको अधिकार सम्पूर्ण खोस्यो । त्यो बेलाको छाँटकाँट पुस १७ गतेकै जस्तो थियो । पुस १७ गते महेन्द्रको लोकतन्त्र मास्ने संबोधन र उनका छोरा ज्ञानेन्द्रको सम्बोधन उस्तै थियो ।
पञ्चायतकालमा जेलबाट छुटेपछि राजाले भेटन बोलाए, म गएँ । राजा बस्ने डम्म सोफा थियो । कहाँबाट खोजेर ल्याएको हो ? थाह छैन । पर एउटा काठको कुर्सी थियो, हात राख्ने नभएको । त्यस्तो कुर्सीमा बसौँ भने । मत सुकुलमा बसेर आएको मान्छे, पेटीमा, भुइँमा बसेर आएको मान्छे, मलाई बस्नलाई कस्तो कुर्सी भन्ने होइन, तर यिनीहरूको मानसिकता कस्तो छ भन्दा आफूहरू सोफाबाला, हामी जनतालाई टक्क्रक्क काठको कुर्सी ! यो प्रसङ्ग किन भन्दा माघ १९ पछि फेरि राजाले बोलाउन पठाए, म भेट्न पनि गएँ, २०४४ सालको त्यो कुर्सी त त्यहीं हाजिर रहेछ । त्यसबीचमा म धेरै दरबार गएको छु, धेरै पल्ट राजासँग भेटेको छु । सोफा कुर्सीमै बसेर भेटिन्थ्यो, जाँदा त उस्तै सोफा, उस्तै काठको पर टिक्रिक्क राखेको छ । मैले भनेँ, नेपाल कहाँ पुगेछ, मलाई यही कुर्सीले सम्झना दिलायो । पञ्चायतकालमा जेलबाट छुट्ने बित्तिकै पनि म यहाँ आएको थिएँ, यही कोठामा यस्तै थियो, बीचमा हराएको थियो, फेरि फर्केछ । हामी प्रजाहरूका लागि भनेर उही पुरानै कुर्सी जतन गरेर राखेको पाइयो । हिंसाको बहाना बनाएर जनताका अधिकार खोस्ने एउटा पक्ष छँदै थियो, दरबारमा बस्नेमा पनि भिन्नता कस्तो ? भेट्न बोलाउने, बोलाएर कस्तोमा राख्ने भन्दा मानिलिउँ हामी मान्छे नै होइनौं । आदिवासीहरू कहाँ बसेको छु म । पप्पाको भात खाएको छु । बिहान पकाएर पानीमा राखेको हुन्छ, बेलुका गएर पानी चुहाउँदै खाने हो । पप्पा भात पनि खाएको छु । अरु के के खाएको छु नभनुँ । कसरी कसरी बसिएको छ, त्यो नभनुँ । हामीलाई अधिकार चाहिएको, बस्नलाई कस्तो कुर्सी छ भनेर हेर्ने कुरा होइन । तर अधिकार त थिएन, थिएन, त्यही अधिकार छैन भनेर भन्नका लागि कुर्सी पनि राख्नुपर्ने रहेछ त्यसरी । तिमीहरूको अब अधिकार छैन, तिमीहरूको दिन सिद्धियो भन्नाका निम्ति ।
त्यसपछि हामीले दुई प्रकारका अतिवादसँग जुध्नुप¥यो । एकातिर क्रान्ति नामको हिंसा । राजनीतिक र समाजका स्थापित मान्छे खोजीखोजी मार्ने कुनै क्रान्ति हुँदैन । तर गरेको त्यही हो । अर्को स्थिरता, स्थायित्व, शान्ति स्थापना गर्छू भनेर फेरि तानाशाहीतर्फ मुलुकलाई फर्काउने । जनताका नाममा, एउटाको बिगबिगी, जनसत्ताको नाममा अर्काको बिगविगी राष्ट्रको नाउँमा, शान्तिका नाममा, स्थिरता र स्थायित्वका नाममा । यसबीचमा हामीले लडाइँ गर्नुप¥यो । अव राजतन्त्रलाई बिदा गरिसकिएको छ । तर त्यसबेलाको उग्रपन्थले अहिले पनि दुःख दिइरहेको छ । यो उग्रपन्थले अझै अलिक समय दुःख दिन्छ । २०५२ सालमा उग्रपन्थी गतिविधि सुरु हुँदा मैले भनेको थिएँ, उग्रपन्थको आयु २० वर्षको हुन्छ, दस वर्ष उकालो चढ्छ, दस वर्ष ओरालो झर्छ । त्यसै अनुसार उकालीओराली ठीक छ । २०५२ देखि २०६२ सम्म उकाली चढ्यो । २०६२ बाट ओराली झर्दै गयो । तर केही केही जन्तु यस्तो हुन्छ, जस्तो अक्टोपस । अक्टोपस काटेर फ्राइ गर्दा पनि चलिराखेको हुन्छ । यो उग्रपन्थ पनि फ्राइ गर्दा पनि दुःख दिन र तर्साउन छोड्दैन ।
यद्यपी हामीले शान्ति प्रक्रियामा ल्याएर हिंसालाई रोक्यौं । दक्षिणपन्थी अतिवादी तानाशाहलाई बिदा ग¥यौं । शान्ति प्रक्रियाका बाँकी कामलाई त हामी टुंगो लगाउँला । तर हिंसात्मक प्रवृत्ति, कानुन नमान्ने प्रबृत्ति, ऐन नमान्ने प्रवृत्ति, संविधान नमान्ने प्रबृत्ति, नियमावली नमान्ने प्रवृत्ति अझै हावी छ । अहिले पाखुरा सुर्काइ, ए ! नियमानुसार जाने ? नियममा चल्न पाइन्छ ? भन्ने त पाखुरा सुर्काइको विषय छ । हजुर के गरुँ त भन्दा सहमति साथ हुनुपर्छ भन्छन् । गजब छ परिभाषा पनि, मैले भनेअनुसार सहमति हुनुपर्छ, मेरो सहमतिबिना केही पनि गर्न पाइँदैन । संविधान, कानुनको मतलब छैन, आफूले जे भन्यो त्यही हुनुपर्ने । अनि देशको हितमा जे–जे हुँदैन, त्यही त्यही भन्ने । देशलाई साम्प्रदायिकतामा कसरी लान सकिन्छ ? कसरी रुवाण्डा बनाउन सकिन्छ ? कसरी वितण्डा मच्चाउन सकिन्छ, त्यसतर्फ नै सोच्ने । १२५ जातजाति, १२३ भाषाभाषीसहित मिश्रित बसोवास रहेको यो देशमा जातीय वैरभाव, कटुता र घृणाको खेती गर्ने, छिमेकीलाई छिमेकी नदेखेर शत्रु देख्ने ? नातेदारलाई नातेदार नदेख्ने ? यो संभव छैन । युगोस्लाभियामा धेरैका छोडपत्र भए, घृणा बढ्दै गएपछि त्यस्तो हुँदो रहेछ । श्रीमतीले बन्दूक निकालेर श्रीमान्लाई हानिदिइन । श्रीमान्ले बन्दूक निकालेर श्रीमतीलाई हाने, अर्को जात भनेर । कहाँ पुग्यो मानवीय चेतना ? हामी सामाजिक प्राणी हौँ । समाजमा सबै प्रकारका तत्व, सबै प्रकारका जाति, सबै प्रकारका थर, धार्मिक विविधता सबै चीज हुन्छ । अझ हाम्रो देश त भौगोलिकदेखि लिएर विविधतायुक्त हो ।
अर्काे पनि कुतर्क छ, सिङ्गो तराईलाई पहाडसँग जोड्न नपाइने । चुरेभावरसम्म पनि जोड्न नपाइने रे । किनभने त्यहाँ पनि अलिअलि भित्री मधेसहरू, त्यता पनि खोंचहरूमा धान फल्छ नि † त्यो धान फल्ने ठाउँ पहाडतिर राख्न पाइँदैन । धान फल्ने जति छुट्टै राख्नुपर्छ रे † यिनीहरूले भनेको जति मान्ने हो भने पहाडका खेतका गह्रा पनि मधेस नै हुन्छ । घरका आँगन पनि सम्म छ, त्यो पनि मधेश नै हुन्छ । पहाडमा बस्ने मान्छेहरूले धानको भात खाने कुरा गर्ने ? कोदो खानुपर्छ, फापर खानुपर्छ, जौ खानुपर्छ, पिँडालु लगाएर खाए भो, आलु खानुपर्छ । धानको भात खाने ? त्यो चाहीँ ठाउँ नराखे भो । कस्तो मजाको देशभक्ति ? कस्तो जनसंविधान ? यो त प्रत्यक्ष देखिने कुरा हो । यसभित्र नदेखिने अरु कुराहरू छन् । देशलाई ध्वस्त बनाउने कुराहरू छन् । जुन देखिदै जानेछन । त्यसकारण संक्रमणकाल अविलम्ब टुङ्ग्याउनुछ । संक्रमणकाल टुङ्ग्याउने भनेको संविधान निर्माण गर्ने हो । यस्का लागि पहिलेको स्वामित्व सन्दर्भ–सामग्रीको रूपमा लिन सकिन्छ । अहिले त्यो असफल भएको स्वामित्व लिएर के गर्ने ? प्रयोगमै असफल भएको संविधानसभा, विघटन भएको संविधानसभाले हामीलाई कुनै गाइड गर्नसक्छ ? अहिलेको संविधानसभा आफैँ सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र ढङ्गले निर्णय गर्नसक्छ ।
अघिल्लो संविधान सभामा जे–जे भनेको थियो, त्यो सार्नका लागि यो बनाएको हो र ? यो संविधान सभा भाग–२ हो र ? यो स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न संविधानसभा हो । यसले संविधानका मामलामा हिजोका, अस्तिका, अलिक अस्तिका २००७ सालपछि २०१७ साल किन आयो भन्ने पनि अनुभव लिन्छ, त्यहाँ लेखेको नहोला । लिनु त प¥यो नि । २०४७ साल पछिको संविधान भन्दा पछाडि के भएको थियो भन्ने कुराहरूलाई पनि हेर्ला । विगतको संविधानसभाको दुःखद् अवसान किन भयो ? त्यो पनि हेर्ला । तर त्यही÷त्यही असफल भएको हेरेर पछ्याएर हुन्छ र ? त्यसकारण हामी अघिल्लो संविधानसभाका अनुभव  लिन्छौं । राम्रा, देशलाई काम लाग्ने, जनतालाई काम लाग्ने रहेछन् भने लिन्छौं । अघिल्लो संविधानसभा अनुपयुक्त बनावटको थियो । त्यसलाई गुरुजी थाप्ने हो भने त्यसले नै निकाल्थ्यो नि संविधान । अतिवादीहरूको भर्खर आएको रापताप थियो । संविधानसभा निर्वाचनलगत्तै मैले टिप्पणी गरेको थिएँ, यो संविधानसभाले संविधान दिन सक्दैन । योसँग त्यो क्षमता छैन । माओवादीको बिगविगी थियो । मैले भनेको थिएँ, एक पाथी जाने भाँडोमा दुई माना दूध राखेर तलबाट बेस्सरी आगो लगाइदियो भने भरिने मात्र होइन, पोखिन्छ । अनि एक पाथी नै भयो त त्यो दूध ? एक पाथी भएको हुँदैन । त्यो सेलाएपछि डेढ माना मात्र बाँकी रहन्छ । माओवादीको बिगविगी त्यही उम्लेको दूध जस्तो हो । वाइसिएलको राप । हतियारको राप । लडाकू भनेर ल्याएर क्याम्पमा राखेको छ । ती सबैको रापलाई लिएपछि त कस्तो भयो भने मान्छे डराएको छ, अनि त माओवादी उम्लिएको मात्र होइन, पोखिन्जेल भयो । कति समय पोखिन्छ ? त्यो सम्भव थिएन । तर अघिल्लो संविधिानसभा अनुपयुक्त बनावटको थियो, संविधान नबनाउने शक्तिको वर्चस्वको थियो । त्यसकारण संविधान नबन्नु बहुत मामुली कुरा थियो त्यतिबेला ।
लोकतान्त्रिक संविधान बनाउने र राज्य कब्जा गर्ने एउटै कुरा हुन्छ ? चुनावपछि सरकार बनाउनेतिर ध्यान, सेना कब्जा गर्नेतिर ध्यान, भएको प्रधानसेनापति हटाएर आफूले भनेको मान्ने प्रधानसेनापति राख्ने ध्यान । मेरो गुरिल्लासँग फुटबल नखेल्ने नेपाली सेना कहाँबाट आयो ? भन्दै रिसइबी साँध्ने, दागा धर्ने काम भयो । त्यसपछि सवैले देखें, २०६९ साल जेठ १४ गते । संविधानसभा भङ्ग गरे, अनेक हिसाबले विकल्प देखाउँदा पनि नमानेर बुरुक्क उफ्रेर भङ्ग गरे । पत्रकारले टिभी अगाडि राखेर सोध्दा दुई तिहाइ नभएपछि संविधान बन्न सकेन भने । अब दुई तिहाइ चाहियो रे संबिधान दिन । दुई तिहाइ भयो भने आफूले भनेअनुसारको संविधान जारी गर्छु भन्ने । किन चाहियो त दुई तिहाइ ? दुई तिहाइ भनेको सहमति हो ? दुई तिहाइ भनेको संख्या होइन र ? सवैलाई थाह छ, संविधानसभाको कार्यकाल दुई वर्षको थियो । अर्को एक वर्ष थपियो, फेरि ६ महिना थपियो, फेरि ६ महिना थपेर ४ वर्ष पु¥याइयो । सिद्ध्याउनु भन्दा त फेरि थपेर कोसिस गरौँ भन्दै थियौँ, तर माओवादीले सिद्ध्याइदियो । त्यसपछि पनि अर्को संविधानसभा निर्वाचन भयो । नेपाली जनताले राम्रैसँग के बुझे भने लोकतान्त्रिक शक्तिहरूलाई दुई तिहाइ दिनुपर्छ, नभए संविधान बन्दैन । त्यो बुझेर एमाले–काँग्रेसलगायतका संविधान बनाउन चाहने लोकतान्त्रिक शक्तिहरूलाई दुई तिहाइ दिए । जनताले दिएको यो जिम्मा, यो अभिभाराअनुसार हामी नेपालको अन्तरिम संविधान, अन्तर्राष्ट्रिय प्रचलन, अलिक अगाडिसम्म माओवादी मानसिकता, ती सबै कुराको म्यापिङ्ग के हो भने संविधानसभाको दुई तिहाइले संविधान बनाउने । यो अन्तर्राष्ट्रिय प्रयोग पनि हो, हाम्रो संविधानको व्यवस्था पनि ।
तर यतिबेला प्रक्रिया भनेपछि सातो जान थालेको छ । सर्वसम्मतिले नै गरे पनि बिनाप्रक्रियाले हुन्छ ? बिनाप्रक्रियाले हुन्थ्यो भने यहीबाट म संविधान घोषणा गरिदिन्छु । हुँदैन त त्यसरी ? कुनै बजारबाट गर्ने कुरा हो र त्यो ? प्रक्रियाबाट संविधान जारी हुन्छ, घोषणा हुन्छ । जति सहमति भए पनि संविधानसभाको प्रक्रियामा जानैपर्छ । हामी कसैसँग पनि एक तिहाइको आसपास भन्दा बढी छैन । संविधान जारी गर्न कम्तीमा दुई तिहाइ चाहिन्छ, त्यो भन्दा बढी चाहिन्छ । अनि हामी संवाद गर्ने पक्षमा छैनौं, सहमति गर्ने पक्षमा छैनौं भन्ने कुराको त अर्थ नै हुँदैन । हामी संवादको पक्षमा छौं, सहमतिको पक्षमा छौं । हामीले खोजेको लडाइँ हो र ? माघ १९ हामीले गरेको हो र ? हामी लडाइँ खोज्दैनौं । जनयुद्धको नाममा चलाएको हिँसा हामीले हो र ? हामी जहिले पनि जनताको अधिकारको पक्षमा छौं, जनताको जिउ धनको रक्षाको पक्षमा छौं ।
हामीले २०४६ सालको आन्दोलन हेरेका छौं । २०६२÷६३ को जनआन्दोलन हेरेका छौं । जब सडकमा साँचिक्कै जनता ओर्लन्छन, तब हतियार आवश्यक हुँदैन । त्यसैले हामी सहमतिका साथ संविधान बनाउन चाहन्छौं । कथंकदाचित सहमति बनेन भने के गर्ने ? यो पीँढी बाचुञ्जेल त जति पर लम्ब्याए पनि त्यही हो । कि मति फेरिनु प¥यो, कि अर्को पिंढी आउनुप¥यो । मति फेर्न तयार नहुनु, अर्को पुस्ता आइञ्जेल कति पर्खनु, त्यो पनि गाह्रै हुन्छ । सबभन्दा सजिलो बाटो त संविधानअनुसार जानु नै हो, जो हामीले सर्वसम्मतिले बनाएका हौँ । अहिलेको अन्तरिम संविधान भनेको सबैले सहमतिले बनाएको हो । संविधानसभाको निर्वाचन पछि हामीले सर्वसम्मतिले नियमावली बनायौँ । अब माघ ८ मै संविधान जारी गर्ने, सहमतिमै जारी गर्ने प्रयासमा छौं भनेर संविधान जारी गर्न नदिने, मोर्चा बनाएर संविधानका सम्बन्धमा भ्रम फिँजाउने अनि विभिन्न तत्वहरू एक ठाउँ जम्मा भएर संविधान बन्न नदिने खेल खेल्ने काम भइरहेका छन् । तर एमालेका तर्फबाट भन्न चाहन्छु, संविधान जारी गरिन्छ, संविधानअनुसार जारी गरिन्छ, नियमअनुसार जारी गरिन्छ । कतिले हामीलाई तर्साउँछन्, हेरौँला, चाखौंला, रक्तपात हुन्छ, भीडन्त हुन्छ, त्यो पनि हेरौँला । तथाकथित जनयुद्ध पनि हामीले देखेका हौँ, विभिन्न घटनाक्रम उनीहरूले मात्र देखेको होइन, हामी पनि यही धर्तीमा हेरिरहेकै छौं । हिजो लडाकू, सेना, महान् जनमुक्ति सेना, हतियार, व्यारेक, क्याम्प सबै हुँदा त टेरिएन भने अहिले अलि लामा नङ पालेको होला, त्यति न हो । यसै कुरासँग तर्सिएर संविधान नबनाउने आवश्यकता हुँदैन । संविधान हामी बनाउँछौं ।
संविधान बनाउँदा पाँच वटा कुरा हामी छाडदैनौं । नेपाली जनता शान्ति चाहन्छन । हिंसातिर धकेलिने कुरामा हामी सहमत हुँदैनौं । क्रान्तिका नाममा शान्ति खल्बल्याउने, हिंसातर्फ मुलुकलाई धकेल्ने, संविधान नबनाएर जुन उटपट्याङ्ग कुरा अहिले गरिराखेका छन्, त्यसमा एमाले सहमत हुँदैन । हामी शान्तितर्फको यात्रा सुनिश्चित गराउने संविधान बनाउँछौं । हाम्रो लडाइँ लोकतन्त्रका लागि हो । समान अधिकार, समान अवसर, सबैका लागि सुरक्षा र सबैका लागि सम्मान हुने स्थिति, जनताको सार्वभौमसत्ता, अहिले एउटा कुरा छ नि जनादेश होइन मतादेश भन्ने । तीन पत्तावालाले पनि यो कुरा गर्छ । मतादेशबाट त जनादेश प्रकट हुने हो । सुशील कोइरालाजी के हिसाबले प्रधानमन्त्री हुनुहुन्छ ? भोट बढी काँग्रेस पार्टीले पायो । वहाँ त्यस पार्टीको संसदीय दलको नेता । कसैलाई लागेको हुन सक्छ, सुशील नहुनुपर्ने, म प्रधानमन्त्री हुनुपर्ने । अब एक दुई सीट आयो, आएन, त्यो बेग्लै कुरा हो, तर म राम्रो चलाउँथे भनेर कसैलाई लागेको हुनसक्छ । तर जनादेश यस्तो कुरा हो । हुनसक्छ त्यो सुशीलजी भन्दा राम्रो चलाउँथे । तर जनताको आदेश चाहिँ अहिले काँग्रेस प्रमुख पार्टी हुनु हो र काँग्रेसको फैसला भो सुशील कोइराला । अनि यो गणितीय खेल अरे, ६०१ संविधानसभा हो कि गणतीय खेल हो ? कि यो चाहीँ संख्या होइन ? संविधानमा लेखेको दुई तिहाई गणीतीय खेल हो कि यथार्थ हो ? सरकार चलाउन बहुमत चाहिन्छ भनेको के हो ? टाउका नगनेर अव हातखुट्टा गन्ने ? सरकार त बहुमत जोसँग छ, उसैले बनाउँछ । जसका पक्षमा धेरैले हात उठाए, उसैले पाउँछ । टाउकै त गन्ने हो नि ।
हामी जनतामा सार्वभौमसत्ता, लोकतन्त्रका अन्तर्राष्ट्रिय आधारभूत मूल्य र मान्यता भएको संविधान बनाउन चाहन्छौं । अहिले त एउटा ‘जन’ थपिदियो भने लोकतन्त्र शोकतन्त्र केही चाहिँदैन । सर्वोपरि पार्टी, पार्टी भन्दा पनि पोलिटव्यूरो र पोलिटव्यूरो भन्दा पनि एक जना नेता, अध्यक्ष छ कि महासचिव छ कि उही हो सवथोक । मैले कुनै पनि तानाशाहले जनताको इच्छाविपरीत जान्छु भनेर बोलेको अहिलेसम्म सुनेको छैन । हरेक तानाशाहले जनताको इच्छाअनुसार, जनताको आदेशअनुसार गरेको छु भन्छ । काम चाहीँ बेग्लै गर्छ, तर जनताको इच्छाअनुसार, जनताको चाहना अनुसार भनिरहन्छ । हामीले जनअदालत भन्ने पनि देख्यौँ । जनसरकार भन्ने पनि देखियो । हामीले चाहेको थितिको समाज हो, अराजकता होइन । हामीले चाहेको समाजलाई अगाडि बढाउने, समृद्धितर्फ लाने कुरा हो । त्यसकारण हामी लोकतन्त्र छोड्दैनौं । लोकतन्त्रविरुद्ध तानाशाहीतर्फको कुनै प्रयास हामीलाई मान्य हुनेछैन । हिजो राजतन्त्र हुँदा, सामन्तवाद हुँदा नेपाली जनतालाई भूगोलको आधारमा, जातको आधारमा, समुदायको आधारमा, पेसा, व्यवसायको आधारमा भिन्न भिन्न गरेर दुःख दिने काम भयो । यो हिजो सामन्तवाद हुँदाको कुरा हो । अब सम्पूर्ण नेपाली जनताले समान अधिकार, समान अवसर पाउँछन् । उत्तिकै सुरक्षा हुन्छ र उत्तिकै सम्मान सबैले पाउँछ । नेपाली जनतालाई चाहिएको अधिकार हो । जनतालाई चाहिएको सैद्धान्तिक अधिकार मात्रै होइन, व्यावहारिक अवसर पनि त्यसमा हुनुप¥यो । हामी हरेकलाई अधिकार र अवसर, हरेकलाई सुरक्षा र सम्मानको स्थिति बनाएर जान चाहन्छौं । हिजो सामन्ती राजतन्त्रमा विभेद ग¥यो, लोकतन्त्रमा विभेद हुँदैन ।
अहिले हामीले पछाडि परेको समाजको हिस्सालाई अगाडि लाने सन्दर्भमा दुइ वटा उपाय भनेका छौं । एउटा दिगो र वास्तविक उपायमा तलैदेखि बच्चाबच्चीदेखि राम्रो शिक्षा प्रदान गर्दै ल्याउने हो । राउटे, दुसाध, चमार, कुमाल, धिमालका छोराछोरीलाई आवासीय ढङ्गले १२ कक्षासम्म पढाइदिने व्यवस्था सरकारले गर्ने ता कि उनीहरू शिक्षित होऊन् । आवासीय किन गरिदिनुपर्छ भने उनीहरू घरबाट फुत्किन पाउँदैनन् । त्यति गरिदिए पछि उनीहरू जागिर गर्दै वा केही गर्दै पनि अगाडि जान सक्छ । पढ्न सक्छ । त्यो चाहिँ उनीहरूलाई इम्पावर (सशक्तिकरण) गर्ने, उनीहरूको क्षमतावृद्धि गर्ने हो । शासनमा र नीति निर्माणमा उनीहरूको सहभागिता बढाउने वास्तविक बाटो हो त्यो । आरक्षणका कुरा हामी किन गर्छाैं भने पुरुष र महिला चुनाव लड्ने हो भने पुरुषले एकाधबाहेक धेरै ठाउँमा जित्छ । त्यसकारण महिलालाई आरक्षित ठाउँ चाहियो, जहाँ उनीहरूले प्रतिनिधित्व गर्न सकून् । दलित अझै आउन सक्ने स्थिति बनिसकेको छैन, त्यसकारण आरक्षित ठाउँ चाहियो । साँचै पछाडि परेको तप्कालाई समावेशी गरेर ल्याउनुपर्छ । हामीले असमानता र विभेदको अन्त्य गर्नुपर्छ र सामाजिक न्यायसहितको समतामूलक समाज स्थापना गर्नुपर्छ । यो हाम्रो तेस्रो बुँदा हो ।
चौथो बुँदा १२५ जातजाति १२३ भापाभाषी र मिश्रित बसोवास भएको यस देशमा राष्ट्रिय एकता हामीले कायम राख्नुपर्छ । बुझ्नुपर्छ, हामी कस्तो अवस्थामा छौं र हाम्रो देशको भूगोल कस्तो छ ? अरु ठूलाठूला देशहरू उपनिवेश हुँदा पनि हाम्रा पुर्खाले हाम्रो देशको स्वतन्त्रता कायम राखे । लडेर देश बनाए र लडेरै देश जोगाए । यति बेला हाम्रो पीँढीमा आएर हाम्रो एकता विथोलिने खालका कुरा गर्छौं भने त्यो अनुचित हो । हामी राष्ट्रिय एकताको पक्षमा छौं । देशलाई भोलि गएर विखण्डनतर्फ लाने खालका प्रयासहरूलाई स्वीकार्न सकिँदैन । पाँचौँ कुरा, नेपाली जनताको सबभन्दा ठूलो समस्या पछौटेपन र गरिबी हो । देशलाई आधुनिकतातर्फ लानुपर्छ र गरिब जनतालाई समृद्ध बनाउने ठोस कदम, ठोस व्यवहार, ठोस प्रयास अगाडि बढाउनु पर्छ । जनता र मुलुकको संमृद्धि हाम्रो चाहना हो । हरेक नेपालीले के खाऊँ, के लाऊँको स्थितिमा होइन, खान–लाउन पाउनुपर्छ, बस्ने घर पाउनुपर्छ र छोराछोरी पढाउन सकिएन भन्ने होइन, पढाउन सकिने अवस्था सिर्जना गर्नुपर्छ । विमारी हुँदा उपचार गर्ने अवस्था निर्माण गर्नुपर्छ । जीवन निर्वाहका लागि आवश्यक कुरा यी नै हुन् । अहिले नेपाली जनताको ठूलो हिस्साले भोग्नुपरेको समस्या यिनै हुन्, जसले गर्दा ४० लाख युवा बाहिर छन । यही कारण हो । यसकारण हामीले हाम्रा उद्योगका क्षेत्र, व्यापारका क्षेत्र, सेवाका क्षेत्र, पर्यटनका क्षेत्र, ऊर्जाको क्षेत्र, हाम्रा अरु संरचना निर्माणका क्षेत्र अनेकलाई काममा लगाएर रोजगारीका थप अवसर सिर्जना गर्नुपर्छ । कृषिलाई आधुनिकीकरण र व्यावसायिकीकरण गर्नुपर्दछ । के खाऊँ के लाऊँको अवस्थाबाट मुक्ति, गरिबीबाट मुक्ति नेपाली जनताका सपना हुन् । चराले पनि रूखको हाँगामा एउटा सानो गुँड लगाउन पाएको छ, तर मान्छे भएर पनि नेपाली जनताले एउटा सानो गुँड लगाउन पाएका छैनन । अनि यहाँ सरकार बन्छन्, सरकार फेरिन्छन्, क्रान्तिकारी कुरा गर्छन् । त्यस्को के अर्थ ? कति समय त्यही चलाइराख्ने ? त्यसकारण अबको कदम हो–गरिबी हटाऊ, रोजगारी सिर्जना गर, रोजगारी उपलब्ध गराऊ, विकासका काम अगाडि बढाऊ । यसकारण हामी जनताको समृद्धिका सपनालाई नष्ट पार्ने खालका कुनै कुरा हुन दिँदैनौं । यो सानो देशमा धेरै वटा प्रदेश, १० कि १४ कि १५ वटा ? हिजो कसले मानेको थियो ? त्यो बेग्लै कुरा थियो । हामीलाई एक थान संविधान देख्ने इच्छा थियो, त्यसैले हिजो धेरै वटा अनुचित कुरा भए पनि ल आओस् भन्ने थियो । अनि संविधान नै नआएपछि त ती कुराहरू गइगए नि !
नेपालमा धेरै बटा प्रदेश सम्भव नै हुँदैन । एउटा संविधानसभा, संसद त हामीले आफ्नै भवनमा चलाउन नसकेर भाडामा चलाएका छौं । एउटा राष्ट्रपति बस्ने ठाउँ नभएर शीतल निवासमा परराष्ट्र मन्त्रालय खाली गराएर बसाएको छ । राष्ट्रपतिका ठाउँमा प्रदेशमा गभर्नर हुन्छ, प्रधानमन्त्रीका ठाउँमा मुख्यमन्त्री हुन्छ । मन्त्रीहरू हुन्छन् । विधायिका हुन्छ । सिङ्गै सरकार चाहियो । अनि कहाँबाट पैसा ल्याएर हामी प्रहरीलाई पाल्छौं ? प्रदेश सरकारले पाल्नुपर्छ प्रहरी । कर्मचारी कहाँबाट पाल्छौं ? स्वास्थ्य कर्मचारी कहाँबाट पाल्छौं ? शिक्षा कर्मचारी कहाँबाट पाल्छौं ? कहाँबाट आउँछ पैसा ? अझ गजब छ । चुरे भावरले तल तराईको भूभाग ठ्याम्मै बिसाउन नपाउने, माथि कोदोबारीबाट चाहिँ शासन चलाऊ । यो खालका कुराहरू हुन्छन् । यदि धेरै वटा प्रदेश बनाउने हो भने आउँदो ५० वर्ष संरचना निर्माण गर्दै ठीक हुन्छ हामीलाई ।
त्यसकारण हामीले अन्तअन्त हेरेर होइन, नेपाल हेरेर थोरै प्रदेश भनेका छौं । अन्तका भूगोल र सम्भावना हेरेर हुँदैन । यहींका भूगोल र सम्भावना हेर्नुपर्छ । मैले अक्सर भन्ने गरेको छु, एन्डोरा भन्ने एउटा सानो देश छ, स्पेन र फ्रान्स बीचमा । यस्तो टुरिस्ट हब छ, घर थोरै, होटेल धेरै छ । त्यहाँको जनता भन्दा बढी टुरिस्ट हुन्छन् । त्यसो भए पछि त्यहाँको अर्थतन्त्र सबल छ । सानै देश भए पनि नेपालभन्दा धेरै चल्छ । किनभने अर्थतन्त्र ठूलो छ । भेटिकन सिटी चल्ला, तर नेपाल यति अविकसित ठाउँ छ, यति पछाडि परेको ठाउँ छ, तुइनमा समाउँदै मान्छे तरेका छन्, पुल छैन । बाटा कस्ता छन् फेरि नामै स्वर्ग जाने बाटो भनेर राखेका छन् । कथंकदाचित् पल्लो छेउ पुगियो भने आज गइएन, स्वर्ग नभए बीचैबाट स्वर्ग गइयो । त्यहाँबाट सवारी साधन चढेर गइयो स्वर्ग नै पुगिने हो कि ! नजाऊँ, हप्तादिन लाग्छ, जाउँ स्वर्ग पुगिने हो कि । अनि यस्ता देशमा अरुअरुका स्वार्थहरू यहाँ ल्याएर थोपरिदिएको छ । हामी नेपाली जनताका आकांक्षा हामीले लागू गर्नुछ । नेपाली जनताका आकांक्षालाई सम्बोधन गर्नुछ । गरिबीतिर जाने होइन, समृद्धितिर जाने बाटो खन्नुपर्छ । विभिन्न नाममा फेरि पछाडि फर्कने होइन, अगाडि बढ्नुपर्छ । संविधान जारी गरेपछि राजनीतिक रूपमा सुशासन र विकास चाहिन्छ । सुशासन र विकास हाम्रो नारा हुन्छ । तसर्थ संविधान बनाउन ढिलो गर्न हुँदैन । विकासका हाम्रा प्रयास त्यतिकै ढिलो हुन्छ । स्थिरता, स्यायित्व छैन भनेर कोही विकासका निम्ति तयार हुँदैन, आन्तरिक न वाह्य । त्यसका निम्ति स्थिरता, स्थायित्व चाहिन्छ ।
अहिले संविधान निर्माणको प्रश्नमा स्पष्टतः दुई वटा धार छ । नेपालको  एकता, नेपालको भविष्य, नेपालको अखण्डता र नेपाली जनतालाई समृद्धितर्फ लाने प्रयास एउटा छ । त्यसो हुन नदिएर क्षतविक्षत बनाउने अर्को कुरा छ । कुनै अलमलमा पर्नु हुन्न । अव सवै नेपालको पक्षमा, राष्ट्रको पक्षमा एकताको पक्षमा लाग्नुपर्छ । विभिन्न हामीले देखिराखेका छौं, अलग देश बनाउने, अलग झण्डा, अलग राष्ट्रिय गान, अलग राष्ट्र भनेर घोषणा गर्ने । अनि मैले पहिले पहिले घरमा झण्डा राख्दिनथेँ, अहिले धुरीमा ठूलै झण्डा राखेको छु, झण्डा च्यात्ने जलाउने उपद्र्याहहरू देखेपछि । यो त हामीले त माया गर्नुपर्ने चीज रहेछ भनेर । जति देशलाई अहित गर्न खोज्छन्, त्यति देशको हितको पक्षमा हामी दृढताका साथ उभिनुपर्छ । देशै भत्काउन खोज्ने, देशै ध्वस्त पार्न खोज्ने, अरुका छौंडाका रूपमा यहाँ फट्याकफट्याक गर्ने, अनि तिनका विरुद्ध नौनी लगाएर बोलिदिनु पर्ने ? जस्ताको तस्तै भनि दिनुपर्छ, यो बेठीक बाटो हामी जाँदैनौं भनेर ।
(एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राजधानी दैनिकका लागि गरिएको कुराकानीमा आधारित )

सम्बन्धित खबरहरु