काठमाडौँ । मलेसियाबाट आएको नेपाल एयरलाइन्सले बुधबार कोरोना पोजिटिभ भएका एक यात्रुलाई काठमाडौं ल्याएको छ । १ सय ४५ यात्रु लिएर आएको विमानले रिपोर्ट पोजिटिभ भएका रौतहटका एक युवालाई ल्याएको हो ।

स्वास्थ्य सेवा विभागको हेल्थ डेस्कमा जाँच गर्ने क्रममा उनले रिपोर्ट पोजिटिभ देखाएका थिए । जहाज चढ्नु ७२ घण्टाअघि कोरोना परीक्षण गरेर नेगेटिभ आएको यात्रु मात्रै जहाजमा चढाउनुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । यही अभ्यासअनुसार विदेशबाट आउने सबै यात्रुले पीसीआर गर्नुपर्ने हुन्छ ।

रिपोर्ट नेगेटिभ आएकालाई मात्रै जहाज चढाउनुपर्थ्यो तर नेपाल एयरलाइन्सको आरए ४१६ जहाजले बुधबार मलेसियाबाट पीसीआर रिपोर्ट पोजिटिभ देखिएको यात्रुलाई समेत ल्याएको हो । पीसीआर रिपोर्ट हेर्दा पोजिटिभ देखिएपछि उनलाई टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले मलेसियाबाट पोजिटिभ भएर आएकालाई भर्ना गरिएको बताए । ‘कुनै लक्षण नभएका संक्रमितको अवस्था सामान्य छ,’ उनले भने, ‘भर्ना गरेर स्वाब परीक्षण गर्न ल्याबमा पठाइसकिएको छ । रिपोर्ट आउन बाँकी छ ।’

जहाजबाट ओर्लिएर टर्मिनलभित्र छिर्नेबित्तिकै हेल्थ डेस्कमा रिपोर्ट देखाउनुपर्ने हुन्छ । ‘रिपोर्ट जाँच गर्ने क्रममा एक जना पुरुषलाई कोरोना पोजिटिभ देखिएको हो,’ एक स्वास्थ्यकर्मीले भने, ‘जहाजबाट आएका यात्रुलाई पोजिटिभ देखिनेबित्तिकै हल्लीखल्ली भयो ।

त्यो जहाजबाट आएका यात्रुलाई छुट्टै राखेर व्यवस्थापनतिर लाग्यौं ।’ पोजिटिभ यात्रु कसरी ल्याइयो भन्ने छानबिन हुनुपर्ने स्वास्थ्य मन्त्रालयका एक चिकित्सकले बताए । ‘जहाजले नै पोजिटिभ केस ल्याएपछि थप असुरक्षित भएको छ,’ उनले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु