काठमाडौँ । प्रमुख प्रतिपक्ष कांग्रेसले वैकल्पिक सरकार निर्माणका लागि पार्टी सभापति शेरबहादुर देउवालाई सर्वसम्मतिबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ ।

पार्टीमा सहमति जुटेपछि संसदीय दलका नेतासमेत रहेका देउवाले आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि अग्रसरता लिने भएका छन् ।

देउवाको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्न माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को यादव–भट्टराई समूहले केही समयअघिदेखि पहल गरिरहे पनि उनी आफैंले भने अग्रसरता लिइरहेका थिएनन् । पार्टीभित्रको प्रतिस्पर्धी समूहले समेत नेतृत्व लिने गरी अघि बढ्न आग्रह गरेपछि देउवा एकाएक उत्साही भएका हुन् ।

यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले प्रतिपक्षमा बस्नुपर्ने धारणा सार्वजनिक रूपमा उठाउँदै आएपछि देउवालाई अप्ठ्यारो परेको थियो ।

उनले सत्तालोलुप नभएको सन्देश दिन बिहीबारमात्रै सरकारको नेतृत्व लिन आफूले नचाहेको प्रस्टीकरण दिएका थिए । सत्ता समीकरणका लागि शुक्रबार कांग्रेस र जसपाबीच छलफल भएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु