काठमाडौ । गत बर्ष चैत्र ११ गतेदेखि देशमा लकडाउन घोषणा गरिएको थियो । अहिले ठिक चैत्र ११ गतेको हाराहारीमा नै कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या ह्वात्तै बढेको छ । योसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन उर्दी जारी गरिसकेको छ ।

गृह मन्त्रालयले देशका ७७ वटा जिल्लामा नै क्वारेन्टाईन र आइशोलेसन बनाउँन निर्देशन दिइरहेको छ । छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्लीमा लकडाउन घोषणा भइसकेको छ ।

यस्तो अवस्थामा के लकडाउन हुन्छ ? भन्ने धेरैको चासो छ । यस सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम गत वर्षझैं मुलुकभर पुनः लकडाउन घोषणाको सम्भावना नरहेको बताउँनुहुन्छ । जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रलायले अनुरोध गरेको छ । तर केही कार्यहरु भने निषेध हुनेछ ।

संक्रमण बढ्न सक्ने भएकाले सभा, जुलुस, र्‍याली, भेला, गोष्ठी, बैठक र भीडभाड हुने व्यवसाय र कार्य नगर्न र सामाजिक–भौतिक दूरी राख्नु र मास्कको अनिवार्य प्रयोग गर्न अनुरोध गरिएको उहाँले दोहोर्याउनुभयो ।

‘सरकारले कोरोना संक्रमणको दोस्रो लहर फैलिन नदिन तयारी गरेको छ । विशेषगरी मन्त्रालयबाट बनाइएका स्वास्थ्यका न्यूनतम मापदण्डहरुलाई पालना गर्नु पर्यो,’ प्रवत्ता गौतमले भन्नुभयो, ‘स्वास्थ्यका मापदण्ड पालना गरेमा कोरोनाको चेन ब्रेक हुन्छ । तत्कालै लकडाउनको योजना छैन ।’

एन्टिजेन परीक्षण र घरमा बस्न नसक्नेलाई क्वारेन्टाइनको व्यवस्था गरिएको गौतमले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘म फेरि पनि भन्छु– जनस्वास्थ्यका मापदण्ड पालनालाई जोड दिनुपर्छ। संक्रमण बढेकाले भौतिक दूरी कायम गर्नुपर्छ । मास्क लगाउनुपर्छ । साबुनपानीले राम्रोसँग हात धुनु वा स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।’

सुरक्षामा कडाई गर्नू
संक्रमणको जोखिम पुनः बढ्न थालेपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्डमा कडाई गर्न निर्देशन दिएको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्ड कडाई गर्न निर्देशन दिइएको गृहका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।

भारतमा कोरोना संक्रमण दर बढ्न थालेपछि सीमामा कडाई गर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गराउन, अनावश्यक भीडभाड बन्द गराउन निर्देशन दिइएको प्रवक्ता बुढाको भनाई छ ।

 

सम्बन्धित खबरहरु