काठमाडौं । गाउँपालिका अध्यक्षको निधनमा पाँच दिन बिदा दिइने भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाले पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाले अध्यक्ष नवलसिंह रावलको निधनमा पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको वडा नम्बर २ का अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिनुभयो ।

उपाध्यायका अनुसार मंगलबार बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले अध्यक्षको निधनप्रति शोक व्यक्त गर्दै चैत १८ गतेदेखि २२ गतेसम्म गाउँपालिकाभरीका सरकारी र गैरसरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

अर्कोतिर बैठकले १० दिनसम्म सम्पूर्ण सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउनेसमेत निर्णय गरेको छ ।

अध्यक्ष रावलको उपचारमा लागेको आठ लाख र अन्त्येष्टिमा लाग्ने खर्च समेत गाउँपालिकाले ब्यहोर्ने निर्णय गरेको छ ।

७७ वर्षीय रावलको मंगलबार बिहान काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

सम्बन्धित खबरहरु