काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अब माधव–झलनाथतिर लाग्ने बताएका छन् । उनले पार्टी विभाजित हुने अवस्था देखेको ।

विभाजित भएको खण्डमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालतिर उभिने निचोड निकालेका हुन् । गौतमले आफ्नो सचिवालयलाई नेपाल र खनालले अलग पार्टी बनाए त्यही पार्टीमा लाग्ने प्रष्ट पारेको भन्दै प्रेस सल्लाहकार विश्वमणी सुवेदीले जानकारी दिएका छन् ।

‘यदि उहाँ (खनाल र नेपाल) हरुले चाहे संसद्को ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु’ गौतमको भनाइ छ । तर अहिलेकै समानान्तर गतिविधिमा भने सामेल नहुने गौतमले स्पष्ट पारेका छन् । उक्त भनाईलाई विश्वमणीले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क. वामदेव गौतमले समसामयिक सन्दर्भमा दुईवटा धारणा स्पष्ट पार्नुभएको छ ।

१. अध्यक्ष कमरेडसँगको कुराकानीबारे
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क. केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, क. अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’

यसको प्रतिउत्तरमा उपाध्यक्ष क.वामदेव गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्नुभएको हो ।

२. क.माधव नेपालहरुका सन्दर्भमा
वरिष्ठ नेता क.माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।

 

सम्बन्धित खबरहरु