काठमाडौ । अन्तत नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) लाई छिन्नभिन्न बनाएर नै छोडेका छन् ।

अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई मात्र सरकारमा ल्याउनेगरी तानिएको लहरोले जसपाको पहरो नै तानिएको छ । सरकारमा जाने निश्चित भएपछि जनता समाजवादी पार्टीको डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका केही सांसदहरु नेता महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा पुगेका छन्। अब बाबुराम–उपेन्द्र घटेर १२ जनामा पुगेको छ ।

५ सांसद ठाकुर पक्षमा पुगेपछि बाबुराम–उपेन्द्रमा आफू समेत मात्र १२ जना सांसद छन् । पाँच सांसदले कित्ता परिवर्तन गर्नुको प्रमुख कारण सरकारमा जाने लोभलाई मानिएको छ।

यसरी कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुग्ने सांसदमा उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रुही नाथ, कल्लुदेवी विश्वकर्मा र रेणुका गुरुङ छन्। ठाकुर पक्ष सरकारमा जाने निश्चित भएपछि उनीहरूले कित्ता परिवर्तन गरेको स्रोतको भनाइ छ। गत वैशाखमा ठाकुर–महतो पक्षले भक्तपुरको डोलेश्वरमा गरेको बैठकमा जसपाका २० जना सांसद उपस्थित भएको दाबी गरेका थिए।

त्यस बैठकमा उपेन्द्र यादव पक्षका कुनकुन सांसद सहभागी थिए भन्ने खुलेको थिएन। स्रोत भन्छ, ‘डोलेश्वर बैठकमा यादव पक्षका श्रीवास्तव र अरगरिया खुलेर आएका थिए। अरू ३ सांसदले आउने आश्वासन दिएका थिए तर त्यस बेला नाम खुलाउन चाहेका थिएनन्। अहिले खुलेरै कित्ता परिवर्तन गरेका छन्।’

यादव पक्षका ५ सांसदले कित्ता परिवर्तन गरेपछि महतोलाई संसदीय दलको नेता चयन गर्ने निर्णयमा जसपाका २० सांसदको हस्ताक्षर रहेको स्रोतको भनाइ छ ।

संसदीय दलमा ठाकुर–महतो पक्ष बहुमतमा रहे पनि कार्यकारिणी समितिमा आफूहरू बहुमतमा रहेको यादव पक्षका नेताहरूको दाबी छ। जेठ ८ र ९ गतेको कार्यकारिणी समिति बैठकमा बहुमत सदस्य उपस्थित रहेको यादव पक्षले जनाएको छ। उनीहरु एक अर्काले कारबाही गरेको सूचना निकालिरहेका छन् । को आधिकारीक भन्ने खुल्न बाँकी छ ।

 

सम्बन्धित खबरहरु