काठमाडौं । कुनै समयकी चर्चित मोडल अहिले उपचार अभावमा छट्पटाइरहेकी छिन् । ललितपुर जिल्लामा जन्मिएकी निशा घिमिरे केही वर्ष पहिले धेरैले सुनेको र देखेको नाम थियो ।

तर २०७६ सालमा उनको जीवन नयाँ मोडमा पुग्यो । अभिनयको कोर्स पढ्न भारतको देहरादून जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते भइन् । दुर्घटना लगत्तै उनको भारतकै अस्पतालमा उपचार गरियो ।

तर, त्यहाँ उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका कारण उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याउनुपर्यो । उनलाई काठमाडौं ल्याएर ट्रमा सेन्टरमा राखी ३ महिनासम्म उपचार गरियो । तर, उनको अवस्थामा सुधार भएन् ।

त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा लगातार थेरापी गरियो । नियमित थेरापी गर्नसमेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी अर्धचेत अवस्थामा घरमै थिइन् ।

उनको शरीर सुकेर जिर्ण बन्दै गएको छ । बीचमा उनको सहयोगका लागि भन्दै देश तथा विदेशबाट सानो सानो रकम सहयोग पनि आउँन थाल्यो । प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ ।

शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या देखिएको छैन । यो बीचमा नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् ।

हाल निशा बोल्न सक्दिनन् । खाना पनि अरुले खुवाइदिनुपर्छ । हातखुट्टा नै कुँजिएर ओछ्यान परेको ३ वर्षपछि नर्भिकले उद्दार गरेकोमा छिमेकी र उनका अभिभावकसमेत खुशी छन् ।

नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले घिमिरेको दर्दनाक अवस्था फोटोमा देखेपछि आफूले उद्धार गरेको बताइन् । अब आफ्नै समन्वयमा उनको सम्भव हुनेजति उपचार गरिने उनले जानकारी दिइन् ।

बिहीबार बिहान कलाकार घिमिरेको उद्धार गरिएको थियो । उनलाई लिन नर्भिक अस्पतालको एम्बूलेन्स गएको थियो । हाल उनको नर्भिक अस्पतालमा राखेर उपचार थालिएको छ ।

निशाका बुवा राजु घिमिरेका अनुसार बिहीबार दिउँसो निशालाई नर्भिकमा भर्ना गरिएको छ । उनले अहिलेसम्म छोरी निशाको उपचारमा करिब ३० लाख रुपैंयाँ खर्च भइसकेको बताए ।

सुरुमा छोरीको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको भए पनि पछि आफुहरुले नै गरेको उनले जानकारी दिए । घरका चार सन्तानमध्ये निशा कान्छी हुन् । अब नर्भिक अस्पतालले उपचार गर्दिने भएपछि अहिले सबैको ओठमा मुस्कान देखिएको छ ।

सम्बन्धित खबरहरु