काठमाडौ । कञ्चनपुरका कैलाश बिष्ट केही समय विदा लिएर नेपाल आएका थिए । नेपाल आएकै समय उनी कोरोना संक्रमित भए ।

अहिले कोरोना नेगेटिभ आउँनासाथ उनी ४ लाख बढी टिकटको मात्र रकम तिरेर अमेरिका फर्किए ।

अमेरिका पुगेर क्वारेण्टिन समय सकिनासाथ खोप लगाउने उनको घोषणा छ । यता मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् ।

अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि विश्वका धेरै मुलुकबाट खोप लगाउनकै लागि जाने क्रम बढेको छ ।

अहिले त्यहाँ खोप पर्यटक धेरै भएको देखिन्छ ।

नेपालमा पनि खोपको उपलब्धता अनिश्चित भएका कारण सामर्थ्य भएका नेपालीहरु अमेरिका जाने क्रम बढ्न थालेको ट्राभल व्यवसायीहरु बताउँछन् ।

व्यवसायीहरुका अनुसार लकडाउनकै अवधिमा पनि चार्टर्ड फ्लाइटबाट गएका थिए । दुई सातायता कतार र टर्किस एयरवेजमार्फत पनि अमेरिका गइरहेका छन् ।

‘पाँच वर्षे मल्टिपल इन्ट्री भिसा लिएर बसेका व्यवसायी, अमेरिकामा छोराछोरी भएका बाबुआमाहरु खोप लगाउनकै लागि अमेरिका गइरहेका छन्,’ चार्टड उडानको काम गरिरहेका एक पर्यटन व्यवसायी भन्छन्, ‘हामीले टिकट बनाइदिने धेरै यात्रुको उद्देश्य खोप लगाउनु नै भएको पाएका छौं ।’

महामारीका बेला यात्रा गर्नु जोखिमपूर्ण मानिन्छ । तर खोप लगाउन पाइने भएकाले मानिसहरु जोखिम मोलेरै अमेरिका जाने गरेको ती व्यवसायी बताउँछन् ।

व्यवसायीहरुका अनुसार दोस्रो चरणको लकडाउन सुरु हुनै लाग्दा छोराछोरी अमेरिका भएका अभिभावकहरु खोप लगाउने उद्देश्यले अमेरिका जाने क्रम सुरु भएको थियो ।

यसरी जानेमा नेपालमा कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेकाहरु पनि छन् ।

अमेरिकामा एक डोज मात्रै लगाए पुग्ने खोपहरु सहजै उपलब्ध हुने भएकाले परिवारका सदस्य पनि भेट्न पाइने र खोप पनि लगाउन पाइने लोभमा उनीहरुको यात्रा हुन थालेको पाइएको छ ।

अझ महामारी बढे त्यहाँ भए सुरक्षित भइन्छ भन्ने सोचेर ठूलो रकम टिकटमा खर्च गरेर उनीहरु अमेरिका गइरहेका छन् ।

 

सम्बन्धित खबरहरु