काठमाडौं । इजरायलका लागि एक हजार सुसारे (केयरगिभर)को माग भएकोमा झन्डै १० हजारले आवेदन दिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार सहायक श्रमिकका लागि एक हजार जनाको माग भएकोमा आवेदन दिने अन्तिम दिन सोमबारसम्म नौ हजार ६९९ जनाको आवेदन परेको हो ।

७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गरी एक हजार केयरगिभरका लागि दक्ष श्रमिकको माग भएकोमा आवेदन दिनेमा धेरै पुुरुष रहेको विभागले जनाएको छ । चार हजार दुई सय महिला र पाँच हजार ४९९ जना पुरुषको आवेदन परेको छ ।

विभागका कार्यकारी निर्देशक कृष्णप्रसाद दवाडीले आवेदन दिने समय सकिएसँगै मङ्गलबारदेखि आवेदनको रुजु थालेको जानकारी दिनुभयो ।

तोकिएको योग्यताअनुसार भए वा नभएको हेरेर नहुनेको आवेदन अस्वीकृत हुने उहाँले बताउनुभयो । विभागका अनुसार आवेदन अस्वीकृत भएमा कारणसहित आवेदकलाई जानकारी दिइनेछ ।

स्वीकृति भएमा वा अस्वीकृति भएमा पनि यसको जानकारी विभागले आवेदन दिँदा व्यक्तिले अनलाइन सिस्टममा राखेको फोन नम्बर र इमेलमार्फत परीक्षा केन्द्र तोक्ने, परीक्षा समय र मितिबारे निर्णय भएपछि आवेदकलाई जानकारी गराइने विभागले जनाएको छ ।

श्रमिकको छनोट प्रक्रियामा कुनै पनि निजी क्षेत्र, वैदेशिक रोजगार व्यवसायी कम्पनी, कन्सल्टेन्सी, एजेन्सी एवं व्यक्तिको कुनै प्रकारको भूमिका र संलग्नता नरहने विभागका महानिर्देशक दवाडीले स्पष्ट पार्नुभयो ।

नेपाल र इजरायल सरकारबीच यसअघि भएको सम्झौताअनुसार इजरायल पठाइने श्रमिकको अन्तिम छनोट गरिने भन्दै महानिर्देशक दवाडीले भन्नुभयो, “अङ्ग्रेजी भाषाको परीक्षाबाट छनोट भएकालाई अन्तर्वार्तामा बोलाइने र अन्तर्वार्ताबाट छनोट भएपछि रोस्टरमा नाम समावेश गरी श्रमिक छनोटका लागि इजरायल पठाइनेछ ।

सोही रोस्टरमा नाम समावेश भएका एक हजार चार सय जनाको सूचीबाट नै इजरायलले गोला प्रथाबाट श्रमिक छनोट गर्ने भएकाले सम्पूर्ण प्रक्रिया निष्पक्ष र पारदर्शी हुनेछ । ” आजको गोरखापत्र दैनिकमा सीता शर्माले खबर लेख्नु भएको छ ।

सम्बन्धित खबरहरु