काठमाडौ। केही दिनदेखिको अविरल वर्षापछि सप्तकोशी नदीमा पानीको वहाव उच्च बनेको छ । साँझ परेपछि झनै ठूलो भेल आएर सप्तकोशी उर्लिएको छ ।

कोशीमा आएको बाढीले उदयपुरको बेलकातर्फ कटान शुरु गरेको छ । सुनसरीतर्फको श्रीलंका टापुतर्फ तिव्र गतिमा कटान शुरु गरेको छ । दुबै जिल्लामा नदी पसेर ठूलो क्षति हुने त्रास बढेको छ ।

दुबै क्षेत्रमा उच्च संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आइतबार साँझसम्म सप्तकोशीले निर्धारित धार भन्दा १५० मिटर कटान गरिसकेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

खतराको संकेत देखिएपछि सम्भावित क्षेत्रमा बाँध निर्माण गर्न शुरु गरिएको छ, त्यस क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

कोशीले लगातार पश्चिमतर्फ कटान गर्न थालेपछि उदयपुरको बेलका नगरपालिका नदी किनार आसपासका वासिन्दा त्रसित बनेका छन् ।

स्थानीय शिक्षक दमनकुमार कटुवालका अनुसार अब १५ मिटर मात्रै कटान गरेमा सप्तकोशीको धार परिवर्तन हुन्छ । ठूलो भेल वस्तिमा छिर्छ । अहिलेको अहिले नै ठूलो बाँध बनाउँन नसकिने भएकाले सुरक्षित स्थानतर्फ सार्ने हो की भन्ने चलिरहेको छ ।

सप्तकोशीले धार परिवर्तन गरी पश्चिततिर लागे बेलका नगरपालिकाको वडा नम्बर २, ३, ९ र ८ का नदी तटका अधिकांश क्षेत्रहरु डुवानमा पर्नेछन् । यो क्षेत्रमा ठूलो मानव वस्ती छ ।

सप्तकोशीले धार परिवर्तन गर्ने खतरा देखिएपछि जिल्ला प्रशासन कार्यालयले विपद व्यवस्थापन समितिको आइतबार आपतकालीन बैठक बोलाएर तटीय क्षेत्रका वासिन्दालाई सतर्क गराउने निर्णय गरेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोख्रेलको अध्यक्षतामा बसेको बैठकले कटान भइरहेको क्षेत्रमा तत्काल अस्थायी तटबन्ध निर्माण गर्ने निर्णय पनि गरेको छ । आइतबार नै ८ हजार बोरा बालुवा र ५० थान जालीको तटबन्ध बनाउन शुरु गरिएको छ ।

सप्तकोशीले धार परिवर्तन गरे उदयपुरको बेलकासँगै सप्तरीको सप्तकोशी र कञ्चनरुप नगरपालिकाका पूर्वी क्षेत्रका वस्तीसमेत जोखिममा पर्नेछन् । अहिले सप्तकोशीको तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्दै माइकिङ गरिएको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले बताउनुभयो ।

यता कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेन्ड बहाव पुगेको छ । यसअघि गत ३२ साउनमा कोशीमा यस वर्षकै बढी २ लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो ।

पहिल्लो मापनले सो रेकर्डलाई समेत उछिनेको छ । पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ । जसका कारणसमेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आँकलन गरिएको छ ।

यस्तै पानी बहाव बढिरहँदा सुनसरी जिल्ला तर्फको श्रीलंका टापु क्षेत्रमा नदीले कटान पनि गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको खबर प्राप्त भएको बताउनुभयो । उहाँका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्दार गरी सुरक्षित स्थानमा सार्ने तयारी भैरहेको छ । नदीको बहाव बढेसँगै प्रजिअ सहितको टोली कोशी क्षेत्रकोनिरिक्षणमा निस्केको छ ।

सम्बन्धित खबरहरु