काठमाडौं । सङ्खुवासभा नरसंहारमा पक्राउ परेका अभियुक्तले दिएको बयानले प्रहरी पनि झस्किएको छ । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा भएको नरसंहारको पाँच दिनपछि प्रहरीले ति व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका २६ वर्षीय लोकबहादुर मृतक ५२ वर्षीय तेजबहादुर कार्कीका भतिज हुन् ।

मृतक र आरोपी १३ दिनभित्रका काका–भतिजा भएको प्रहरी बताउँछ । तर, आवेगमा आएका लोकबहादुर एक्लैले तेजबहादुरसहित ६ जनाको नरसंहार गरेको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका लोकबहादुरले प्रहरीलाई तेजबहादुरले ‘हेपेका कारण’ आफुले आवेगमा नरसंहार गरेको बयान दिएका छन् । तेजबहादुरका दुई छोरा विदेशमा छन् ।

छोराहरु विदेशमा भएको कुरालाई लिएर तेजबहादुरले हेपाहा प्रवृति देखाउने गरेको बयान उनले दिएका छन् । आफ्नो काकाको बचन सुनेर लोकबहादुरलाई आफु विदेश जान नसकेकोमा ‘हिनतावोध’ भइरहन्थ्यो ।

स्थानीयले पनि लोकबहादुरको बयानलाई समर्थन गरेका छन् । गाउँलेहरुका अनुसार तेजबहादुरको प्रवृत्ति अरुलाई होच्याउने खालको थियो । सो कुरा लोकबहादुरलाई मन परेको थिएन ।

तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको फरकमा छ । प्रहरीले दिएको जानकारी अनुसार सोमबार विहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई निशाना बनाइएको थियो ।

बाटोमा कुरेर बसेका लोकबहादुरले काका तेजबहादुरको ज्यान लिएका हुन् । त्यसपछि उनले राम्रोसँग सुन्न र देख्न नसक्ने हजुरबुवा ८५ वर्षीय बौदमानबाहेक अन्य सबैलाई प्रमाण नष्ट गर्नका लागि सिध्याएका हुन् ।

तेजबहादुरपछि लोकबहादुरले हजुरआमा ८४ वर्षीय पार्वता, ५२ वर्षीय काकी कमला, काकी ३२ वर्षीय रञ्जना, ११ वर्षीय भतिज दीपेन र ७ वर्षीय भतिज गोमाको ज्यान लिएका हुन् ।

घटनास्थलको अनुसन्धानका लागि प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र संघीय इकाई प्रहरी कार्यालय धरानको ठूलो टिम परिचाल भएको छ । उनलाई आज सार्वजनिक गरिएको छ । उनको प्रारम्भिक बयान सुन्दा नै प्रहरी झस्किएको छ ।

सम्बन्धित खबरहरु