काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर– १ गाभरमा पाटे बाघले केही मान्छेलाई घेरेको छ । जंगलमा पशु चौपाया चराउन गएका ती स्थानीयलाई बाघले घेरेको हो ।

बाघबाट घेरिएका ब्यक्तिहरु आफ्नो ज्यान जोगाउनरुखमा चढिरहेको स्थानीय वासिन्दा चन्दा लामाले जानकारी दिनुभयो । ‘बाघले मान्छेलाई घेरेर राखेका छन्, रुखमा चढेका उनिहरुको उद्धार गरिदिनु पर्यो ।’– लामाले भन्नुभयो ।

बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टरका प्रमुख उत्तम चौधरीले जंगलमा बाघ देखिएको जानकारी आएको र नेपाली सेना सहितको टोली त्यसतर्फ पठाईएको बताउनुभयो ।

स्थानीयले चौपाया चराउन गएका ब्यक्तिलाई बाघले घेरेको जानकारी पाएपछि त्यसवारे बुझ्ने कम भइरहेको पनि उहाँले बताउनुभयो ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले यस विषयमा केही जानकारी स्थानीयबाट आएकोले सो बारेमा बुझ्न र रुखमा चढेका मानिसको उद्धार गर्न निर्देशन दिईसकेको जानकारी दिनुभयो ।

दुई साता अघि सोही ठाउँमा पाटे बाघले एकजना भारतीय नागरिकलाई मारेपछि बाघ नियन्त्रणमा लिन खोजेपनि सफलता मिलेको छैन ।

बाघ नियन्त्रणमा लिनका लागि दुई वटा हात्ती र सेनाको टोली खटाईएको छ । सो स्थानमा चारवटा पाटे बाघ रहेको पुष्टि त्यहाँ राखिएको क्यामेराबाट भएको थियो ।

सम्बन्धित खबरहरु