काठमाडौं । हिन्दुको महान् चाड बडादशैँको पहिलो दिन घर, डेरामा घटस्थापना गरेर बिहीबार बडादशैँ आरम्भ हुँदै छ ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बडादशैँ मनाउने प्रचलन छ । असत्यमाथि सत्यको विजय र दानवी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा यो चाड मनाइँदै आएको छ ।

बिहीबार दियो, कलश र गणेश स्थापना गरी पूजासहित पूर्ण जलघडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिँदै छ ।

हनुमानढोका दरबारस्थित दशैँघरमा पनि महालक्ष्मी, महासरस्वती र नवदुर्गाको पूूजाअर्चनासहित जमरा राखेर घटस्थापना गरिँदै छ ।

गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले मुलुकका प्रायः सबै राजगुठीअन्तर्गतका शक्तिपीठमा घटस्थापना गरेर जमरा राख्ने र टीकाका दिन सर्वसाधारणसमेतलाई टीका लगाइदिने व्यवस्था भएको जानकारी दिनुभयो ।

भुटनदेवी हेटौँडा, रणउज्जेश्वरी पाल्पा, पूर्णचण्डी जावलाखेल, नवदुर्गा र ब्रह्मायणी भक्तपुर, काठमाडौँको मैतीदेवी, पशुपतिको झङ्केश्वरी, गुह्येश्वरीलगायतका शक्तिपीठमा पनि जमरा राख्ने तयारी भएको छ ।

समस्त शक्तिपीठमा स्थानीयवासीले सरसफाइ गरेर घटस्थापनाको तयारी गरेका छन् । बिहान ११ः४६ मा घटस्थापना गर्न उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले भनेको छ ।

सम्बन्धित खबरहरु