काठमाडौ । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) अन्तर्गत भाषा तथा साहित्य समितिले महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा वृहत कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रम आगामी कात्तिक १४ गते (अक्टोबर ३१) का दिन नेपाली समयअनुसार साँझ ६ बजे आयोजना हुने भएको हो ।

कार्यक्रममा नेपाली भाषा तथा साहित्यका मुर्धन्य व्यक्तित्व प्रा. डा. महादेव अवस्थी प्रमुख वक्ताको रुपमा रहनेछन् ।

महाकवि देवकोटाका बारेमा दशकौँ अध्यापन गरेको तथा देवकोटाको व्यक्तित्व तथा कृतित्वमाथि भएका अध्ययन अनुसन्धानमा निर्देशन एवम् समालोचकको भूमिका निभाएको अनुभव संगालेका अवस्थी आफैँमा नेपाली भाषा साहित्यको खोज तथा अनुसन्धान विज्ञ, समालोचक, साहित्यकार तथा क्षेत्रीय भाषाको ज्ञाता समेत रहेका छन् ।

साथै कार्यक्रममा देश तथा विदेशमा रहेर नेपाली साहित्यमा टेवा पुर्याइरहेका विज्ञहरुले महाकविको सम्झनामा तथा दीपावालीको उपलक्ष्यमा रचना वाचन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा उप प्रा. रोमकान्त सापकोटा, डा. रेनुका सोलु,उप प्रा. डा. महालक्ष्मी अधिकारी जस्ता साहित्यकार एवम् विद्द्त ब्यक्तित्वले आफ्ना रचना वाचन गर्दै कार्यक्रम सफलताको शुभकामना पनि दिनेछन् ।

त्यसैगरी, अमेरिकाबाट लालगोपाल सुवेदी, जापानबाट कृष्ण सुधामा तथा केवी पारखी र जर्मनी, नर्वे, डेन्मार्क, रुस, दक्षिण कोरिया, कतार, युएई, साउदी अरेबिया, भारत, चीन लगायत विभिन्न मुलुकबाट कार्यक्रममा प्रतिनिधित्व, रचना वाचन एवम् मन्तव्य रहने इन्सका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले जानकारी दिएका छन् ।

त्यस्तै, कार्यक्रमको बीच बिचमा सांस्कृतिक झाँकीको पनि विशेष आकर्षण रहने इन्स भाषा साहित्य समितिकी अध्यक्ष डा. जानुका पौडेलले जनाएकी छन् ।

 

सम्बन्धित खबरहरु