काठमाडौं । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञावलीले एमालेको १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताउनुभएको हो ।

सचिव ज्ञावलीले भन्नुभयो, “अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुन्छ । केन्द्रीय सदस्यमा धेरै साथीहरू आकाङ्क्षी भएकाले मतदान हुन्छ ।” केन्द्रीय सदस्य र अन्य कुनै एक÷दुई पदबाहेक अन्य पद सर्वसम्मतमै टुङ्गिने उहाँको भनाइ थियो ।

महाधिवेशनका लागि तयारी तीव्र पारिएकाले आज केन्द्रीय पदाधिकारी महाधिवेशन उद्घाटनस्थल र बन्द सत्रस्थलसमेत अनुगमन गर्न आएको सचिव ज्ञवालीले जानकारी दिनुभयो ।

महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम कात्तिक २७ गते हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “२७ गते देशभरि र प्रवासमा समेत प्रतिनिधि छनोट गरिने छ ।” महाधिवेशनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनालाई निम्ता गर्ने काम सकिएको सचिव ज्ञवालीले जानकारी दिनुभयो ।

पार्टीभित्र अहिले देखिएका केही समस्या समाधान गरेर अघि बढ्ने चर्चा गर्दै उहाँले भन्नुभयो, “पालिका र जिल्लामा त्यस्तो समस्या छैन । केही साथीको कार्यविभाजनमा असन्तुष्टि रहेको छ । यो समाधान हुँदै जान्छ ।”

पार्टी आज एकताको मनोविज्ञान र १० बुँदे पछि जोडिएका साथीहरूको मनोविज्ञानका आधारमा अघि बढ्ने जानकारी दिँदै उहाँले बताउनुभयो, “१०औँ महाधिवेशन अध्यक्ष ओलीको नेतृत्वमा सर्वसम्मत अघि बढ्छ ।”

सम्बन्धित खबरहरु