काठमाडौं । भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ ।

केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदूषणको मात्रा न्यूनीकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो ।

भारतका प्रधानन्यायधीश एन भी रमण, न्यायाधिशहरु डि वाई चन्द्रचुडा र सूर्यकान्तको इजलाशले दिएको सुझावको अहिले निकै चर्चा भएको छ ।

“हावाको गुणस्तर मापक सूचकांकलाई ५०० बाट कम्तीमा २०० मा झार्नु पर्नेछ, त्यसको लागि एउटा राम्रो उपाय दुईदिने लकडाउन हुनसक्छ,” सुझावमा उल्लेख गरिएको छ ।

मानिसको स्वास्थ्यका लागि लकडाउन आवश्यक भएकाले त्यसतर्फ सोच्न सकिन्छ भन्ने प्रश्न पनि न्यायाधिशहरुले गर्नुभएको छ ।

लकडाउनलाई अदालतले तात्कालीन उपायको रुपमा मात्रै लिन आग्रह गर्दै दीर्घकालीन रुपमा समस्याको समाधान गर्ने उपाय भने अरु नै अपनाउनुपर्ने उल्लेख गरेको छ ।

अदालतले अति प्रदूषण भएकाले अहिले बालबालिकाहरुलाई घरबाहिर निस्कन दिनु वा विद्यालय आवत जावत गराउन पनि पुनर्विचार गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएको छ ।

चिकित्सकहरुले वायु प्रदूषणले बालबालिकाको स्वास्थ्यमा गम्भीर र दीर्घकालीन असर पर्ने भएकाले त्यस तर्फ विषेश ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित खबरहरु