काठमाडौं । नेपालसहित विश्व अहिले पनि कोरोना महामारीसँग लड्दैछ । यो बीचमा बजारमा विभिन्न कम्पनीहरूले बनाएको कोरोना खोप पाइन्छन् ।

यस महामारीमा केही डरलाग्दा घटनाहरु पनि बाहिर आएका छन् । यो बीचमा कोरोना खोपलाई लिएर भारतबाट सबैको होस उडाउने खबर आएको छ ।

यदि तपाईं दिल्ली वा केरलाका हुनुहुन्छ भने, तपाईंले कोरोनाको रोकथाम वा उपचारमा धेरै सावधानी अपनाउनु आवश्यक छ । किनकि वाराणसीमा एक डरलाग्दो गैरकानूनी कारखाना भएको खुलेको हो ।

जानकारी अनुसार उक्त कारखानमा नक्कली कोरोना खोप बन्ने गरेको थियो । त्यो मात्र होइन, नक्कली टेस्टिङ किट र रेमडेसिभिर इन्जेक्शनहरू पनि ठूलो परिमाणमा बन्ने गरेको खुलेको हो ।

विशेष कुरा के हो भने खोपमा औषधीको सट्टा पानी र ग्लुकोज मिलाएर बेच्ने गरिएको थियो । उक्त खोपसहितको अन्य स्वास्थ्य सामाग्री दिल्ली र केरलाको बजारमा पुगेको छ । एसटीएफ र आईबीले डेढ वर्षको मेहनतपछि वाराणसीको घरमा नक्कली कोरोनासँग सम्बन्धित औषधि र खोप बनाउने कारखानामा छापा मार्दा यस्तो खुलासा भएको हो ।

छापा मार्दा करिब ६ करोड ३१ लाख भन्दा धेरै रुपैयाँ बराबरको नक्कली कोरोना खोप, टेस्टिङ किट र रेमडेसिभिर खोप बरामद गरिएको छ । योसँगै ठूलो परिमाणमा प्याकिङ सामाग्री र मेसिन समेत बरामद गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

नक्कली टेस्टिङ किट, नक्कली कोभिशिल्ड खोप, नक्कली जाइकोभ डी खोप, प्याकिङ मेसिन, खाली शीशी, स्वाब स्टिक पनि बरामद गरिएको छ । सोधपुछका क्रममा कारखानाबाट पक्राउ परेका राकेश थवानीले सन्दीप शर्मा, अरुणेश विश्वकर्मा र शमशेरसँग मिलेर नक्कली खोप र टेस्टिङ किट बनाएर बेच्ने गरेका बयान दिएका हुन् ।

रेमडेसिभिर खोपमा ग्लुकोज पाउडर फेला पारिएको छ । आजतकका अनुसार १५५० वटा नक्कली रेमडेसिभिर खोपमा ग्लुकोज भेटिएको छ । यसबाहेक कोविशिल्डका ७२० नक्कली खोप फेला परेका छन् । स्तरविना भरिएका एक हजार शीशी समेत भेटिएका छन् ।

यसबाहेक नक्कली एन्टिजेन किटका ४ सय ३२ बाकस पनि फेला पारिएको समाचारमा उल्लेख छ । एउटा बक्समा २५ किट छन् । एउटा बाकसको मूल्य भारु ३७५०० तोकिएको छ ।

यसबाहेक क्याडिलाले बनाएको खोपमा पनि आपूर्ति नभएका र परीक्षणकै क्रममा रहेका ८८० शीशी पनि फेला परेका छन् । बरामद भएका सबै सामानको मूल्य ६ करोड ३१ लाख रुपैयाँ भन्दा धेरै रहेको छ । यस घटनामा संलग्न ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । खोपमा ग्लुकोज पाउडर मात्र भरिएको थियो ।

 

सम्बन्धित खबरहरु