रमेश खत्री, जनबोली । खोटाङ्ग दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ साविकको सदरमुकाम दिक्तेलका मिलन दाहालले नेपाली सेनामा २० बर्ष सेवा गर्नुभयो ।

सरकारले सेनालाई दिने तलब, भत्ताले घर परिवारलाई राम्रो बनाउँन सक्नेगरी आर्थिक उपार्जन हुन सक्दैन भन्ने लागेपछि सेनाको सुबेदार पदबाट स्व–इच्छाको अवकास रोज्नुभयो ।

राम्रो घर, योग्य-दक्ष सन्तान र समुन्नत परिवारका लागि उहाँले अफगानिस्तानमा सेक्युरिटी गार्डमा काम गर्न जाने निधो गर्नुभयो ।

जनबोलीसँग कुरा गर्दै उहाँले भन्नुभयो, नेपालको पैसाले पुगेन । केही कमाउँ भन्ने हुटहुटी चल्यो । झोला बोकेर अर्काको देशमा सुरक्षा गर्न आजभन्दा १२ बर्ष अघि अफगानिस्तान उडे ।

मिलन दाहाल राजनीतिक परिवारको सदस्य हुनुहुन्छ । नेपालमै बस्नुभएका भाई हर्क दाहाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडाध्यक्ष बन्नुभएको छ । मिलन भने, घर-परिवार र देशका लागि आर्थिक उपार्जनका लागि विदेश हानिनुभयो । सुरुमा त्यहाँपनि राम्रै थियो ।

एक हजार ५ सय अमेरिकी डलर मासिक कमाई थियो । अफगानिस्तान गएदेखि नै असुरक्षा भने खुबै थियो । तालिबानको दबादबा दिनप्रतिदिन बढ्दै गयो । अगष्ट महिनादेखि तालिबान संघर्ष उच्च बिन्दुमा पुग्यो । अफगानिस्तान युद्धको भूमरीमा फस्यो ।

अगष्ट महिनाभित्र नै अफगानिस्तानको राजधानी काबुलमा आक्रमण गर्ने तालिबानले घोषणा नै गर्यो । तालिबानहरु सहर नजिक आइसकेका थिए । तालिबान लडाकु समूह राजधानी काबुलनजिकै पुगेका बेला सरकारको तर्फबाट तालिबानसँग वार्ताका लागि जिम्मेवार निकायका प्रमुख डा. अब्दुल्लाह अब्दुल्लाहले गनीले देश छाडे । ६ अगस्टस्मा तालिबाट लडाकु समूहद्वारा जारान्ज कब्जा गरे । यो तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी थियो ।

१३ अगस्टमा दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा गयो । १४ अगस्टमा उत्तरी सहर मजार–ए–शरिफमाथि तालिबानको कब्जामा पुग्यो । १५ अगस्टमा युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा गयो ।

त्यसपछि १५ अगष्ट २०२१ मा राष्ट्रपति अशरफ गनीले देश छोडे । १६ अगष्टपछि त हामी त्यहाँ रहेका सबै विदेशी मृत्युको मुखमा पुगेका थियौँ मिलनेले त्यहाँको अवस्था बताउनुभयो । विदेशी अनुहार देख्नै नहुँने स्थानीय आएर आक्रमण गरिहाल्ने ।

तोडफोड निरन्तर भइरहेको थियो । अनौठो त यस्तो थियो की तालिबानले कब्जामा लिएपछि त्यहाँको सेना, सेना रहेन, प्रहरी, प्रहरीको रुपमा नै रहेन । हरेक तालिबानका हातमा अत्याधुनिक हतियार थिए । हतियार सहित सरकारमा आए । ज्यान अब भगवान भरोसा भयो ।

अति दुःख-कष्ट भइरहेका बेला अफगानिस्तानबाट तालिबानले उद्धार उडानमा विदा गरिदियो । तर विमानस्थलमा अमेरिकी सेना र तालिबानबीच संघर्ष जारी नै थियो ।

कहाँ लगिरहेको हो भन्ने कुनै टुंगो भएन । सुरुमा क्यानडा लैजाने भनेर विमान आकाशमा घुमिरह्यो । पछि हामीलाई बेलायत ल्याएछ । त्यहाँ ल्याएपछि फेरी कम्पनीले बेलायतसँग समन्वय गरेर त्यही काम गर्ने अवशर दियो । तर अत्याधिक चीसो र घरपरिवारको यादले गर्दा अब म काम गर्दिन । बाँचेर आए, परिवारसँग बस्छु भनेर नेपाल जाने निधो गरे ।

उहाँले आफूले खेपेको कष्ट सुनाउँदै जानुभयो,  बेलायतमा पिसिआर गरेर टर्कीको स्ताम्बुल हुँदै नेपाल आउँनेगरी टिकट लिए । १५ दिनको बेलायत बसाई नै मेरालागि कष्टसाध्य भइसकेको थियो ।

नेपाल उड्दैछु भन्दा निक्कै खुशी थिए । त्यहाँ पीसीआर गरेको रिपोर्ट इमेलमा पठाउँछु भनेर गोराहरुले विमानमा चढाए । बेलायतबाट टर्कीको इस्ताम्बुल एयरर्पोटमा टान्जिट थियो तर मेरो पीसीआर रिपोर्ट बेलायतका गोराले ईमेलमा नहालेकाले मलाई त्यही रोकिदियो ।

५ दिनसम्म खानु न पिउनु, न कही सुत्नु म त्यही एयरपोर्टको कम्पाउण्डमा बन्धक जस्तै भए । अति कष्ट भोग्नु पर्यो । न भिसा छ, न त त्यहाँका कसैको भाषा बुझ्न सक्छु । अब त म यही मर्ने भए भन्ने लाग्यो । त्यसपछि त्यहाँको प्रहरीको (ठूलो पुलिस अफिसर) अधिकृत लाई रिपोर्ट गरेर की मलाई यही सूट गर कि नेपाल पठाउ भनेपछि बल्ल–बल्ल त्यहाँ पीसीआर परीक्षण कक्षमा लग्यो ।

मेरो पीसीआर रिपोर्ट नेगेटिभ आयो । त्यसपछि मात्र मलाई बोर्डिङ पास दियो । सेप्टेम्बर १ तारिकको राति बल्ल ठूलो साहस गरेपछि मातृभूमिका लागि उडे । सेप्टेम्बर २ मा नेपाल आएर आफ्नै मातृभूमिमा रमाउँदैछु । मिलनले आफ्नो कहानी सुनाएपछि भन्नुभयो, नेपालको अर्थतन्त्र वैदेशिक रोजगारी छ ।

तर प्रमुख गन्तव्यका विमानस्थलहरुमा नेपालीलाई साथ सहयोग गर्ने कुनै व्यवस्था छैन । राज्यले यदी यो क्षेत्रलाई प्राथमिकताका साथ हेरेको हो भने, नेपालको बैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य भएका देश र उक्त देशहरुमा उडान भर्दा हुने ट्रान्जिट पोइन्टमा नेपाली नै वा नेपाली भाषा बुझ्न सक्ने सहचारी राख्नुपर्छ । यो मेरो मात्र कष्ट हैन । विदेश जाँदा फर्किदा अधिकांश नेपालीले केही न केही कष्ट भोग्नु परेको नै छ ।

 

सम्बन्धित खबरहरु