काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्याक्ट एमसीसीको विपक्षमा उभिने स्पष्ट पार्नुभएको छ ।

आइतबार सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेपछि फेसबुकमा प्रचण्डले विवाद र विरोधका बीच पेश गरिएको टिप्पणी गर्नुभएको छ ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’

प्रचण्डले एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनको पनि विरोध गर्नुभएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन हुने भएपछि आइतबार बिहानैदेखि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।

सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनहरुले संसद भवनलाई केन्द्रित गरी नयाँ बानेश्वर क्षेत्रमा विरोध कार्यक्रम राखेका थिए ।

तर प्रदर्शन सुरु हुँदा नहुँदै सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच एमसीसी संसदमा टेबल गर्ने सहमति भएको खबर आएपछि एमसीसी विरोध प्रदर्शनले उग्र रुप लियो ।

नयाँ बानेश्वरको एभरेस्ट होटल नजिक प्रहरीले सडकमा बार राखेर प्रदर्शनकारीलाई संसद भवनतर्फ अघि बढ्न रोक्यो ।

प्रदर्शनकारीले पनि प्रहरीले राखेको बार भत्काएर संसद भवनतर्फ अघि बढे । त्यसक्रममा प्रहरीले पानीको फोहोरा, अश्रुग्याँस र रबरको गोली प्रयोग गर्यो भने प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगा र इँट्टा हान्यो ।

सुरुमा एकीकृत समाजवादीसम्वद्ध विद्यार्थी संगठनले ‘एमसीसी स्वाहा’ भन्दै सडकमै होम गर्‍यो । यो समूहको विरोध कार्यक्रम सकिँदा नसकिँदै माओवादी केन्द्रसम्वद्ध भ्रातृ संगठनका कार्यकर्ता सडकमा आइसकेका थिए ।

 

सम्बन्धित खबरहरु