काठमाडौ । युक्रेनको राजधानी किएभमा रुसले सैन्य कारबाही सुरु गरेको छ ।

शुक्रबार बिहान त्यहाँ गोलाबारी पनि भएको छ र अहिले मानिसहरुले राजधानी छाड्ने क्रम चलिरहेको छ । त्यहाँ ठूला–ठूला विस्फोट भइरहेका छन् ।

कतिपय नजिकैको मुलुकतर्फ प्रवेश गर्न खोजिरहेका छन् भने त्यहाँ रहेका विदेशी नागरिकलाई विभिन्न मुलुकले सुरक्षित स्थानतर्फ लैजान पहल गरिरहेका छन् ।

राजधानी किएभमा केही नेपाली नागरिक पनि छन्, उनीहरुले उद्धारका लागि पहल गरिदिन नेपाल सरकारसँग आग्रह गरेका छन् । त्यहाँ झण्डै २ सयको हाराहारीमा नेपाली रहेको अनुमान गरिएको छ ।

किएभमा अध्ययनका लागि पुगेकी नेपाली विद्यार्थी निशा क्षेत्रीले शुक्रबार साँझ ‘आफूहरुको मर्ने बाँच्ने टुंगो नभएको’ अवस्थामा रहेको बताएकी छन् । र, उद्धार गर्नका लागि पहल लिन नेपाल सरकारसँग आग्रह गरेकी छन् ।

‘छिनछिनमा यहाँ विस्फोट भइरहेको छ, बच्नलाई हामी मेट्रो चढेर विभिन्न ठाउँको यात्रा गरिरहेका छौं’ उनले भनिन्, ‘यहाँबाट कहाँसम्म जाने हो, टुंगो छैन ।’

केही दिनलाई खानका लागि पहिल्यै तयार गरेर राखेको भए पनि परिस्थिति बिग्रिंदै जाँदा खानकै लागि पनि समस्या हुने उनले बताइन् । रुसले सैन्य कारबाही सुरु गरेको पहिलो दिन चाहिं उनले होस्टल नजिकै रहेको अस्पतालको भुइँतलामा बसेर बिताइन् ।

यसैगरी कयौँ मानिसहरु विभिन्न ठाउँ भागेर ज्यान बचाइरहेका छन् । एकपछि अर्को इलाका फेर्दै बसिरहेका छन् ।

घरभन्दा निक्कै भित्र बसेर आफ्नो ज्यानको रक्षा गरिरहेका भिडियोहरु आइरहेका छन् । अरु नेपालीपनि विभिन्न माध्यमबाट सम्पर्कमा आइरहेका छन् ।

 

सम्बन्धित खबरहरु