काठमाडौं । भारत, बेङ्गलोरमा एक व्यक्तिमाथि आफ्नो प्रेमीकालाई जलाएको आरोप लागेको छ ।

प्रहरीका अनुसार दुबै जना सम्बन्धमा थिए । ती पुरुषले मृतक महिलासँग विवाह गर्न अस्वीकार गरेका थिए ।

मृतक २३ वर्षीया युवती दलित समुदायकी थिइन् । मृतककी बहिनीले शिवकुमार चन्द्रशेखर हिरेहलाविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् ।

यद्यपी हत्या हो वा आत्महत्या हो भन्ने खुल्न सकेको छैन । प्रहरीका अनुसार शिवकुमार र दानेश्वरी विजयपुरा जिल्लाको एउटै कलेजबाट इन्जिनियरिङ पढेका थिए । उनीहरुबीच प्रेम सम्बन्ध रहेको थियो ।

आफ्नो पढाइपछि, तिनीहरू बेङ्गलोरमा लिभिङ रिलेशनमा बस्दै आएको बताइएको छ । आरोपितले दानेश्वरीसँग विवाह गर्ने वाचा गरेको दानेश्वरीकी बहिनीले उजुरीमा बताएकी छन् ।

शिवकुमार लिंगायत र दानेश्वरी दलित समुदायकी हुन् । उजुरीका अनुसार दानेश्वरीले विवाहको कुरा गर्दा शिवकुमारले आमाबुवासँग कुरा गरेर आउने बताए ।

तर फर्किएपछि आरोपितले दानेश्वरी दलित समुदायको भएको भन्दै बिहे नगर्ने बताए । दानेश्वरी शिवकुमारको कार्यालयमा गइन् र उनलाई फेरि सोच्न भनिन् । शिवकुमारले दानेश्वरीलाई दुर्व्यवहार गरेको आरोप छ ।

जातिय टिप्पणी समेत गरेका थिए । उजुरीका अनुसार १५ मार्चमा शिवकुमारले दानेश्वरीलाई सुनसान ठाउँमा बोलाए । त्यसपछि पेट्रोल खन्याएर आगो लगाए ।

यो सबै गरेपछि पीडितलाई अस्पताल लगेर त्यहाँबाट उनी भागेका थिए । अस्पतालमा भर्ना भएका पीडितको मार्च १८ मा मृत्यु भयो । प्रहरीका अनुसार घटनाको अनुसन्धान जारी रहेको छ, छिट्टै घटनाको पूर्ण विवरण आउने प्रहरी वरिष्ठ अधिकारीले बताएका छन् ।

सम्बन्धित खबरहरु