काठमाडौ । नेपालमा वेरोजगारी कति छ भन्ने यो एक संकेत हो ।

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न तीन दिनमा डेढ लाख जनाले आवेदन दिएका छन् ।

अब अझै कति जनाले आवेदन दिने हुन् त्यो आँकलन गर्न सक्ने अवस्था छैन ।

देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आइतबार, सोमबार र मंगलबार मात्रै १ लाख ३९ हजार ७५९ जनाले दर्खास्त दिएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिनुभएको छ ।

पहिलो दिन आइतबार ३० हजार २९९, सोमबार ५२ हजार २९९ र मंगलबार ५७ हजार १६१ जनाले आवेदन आएको छ ।

बुधबारको विवरण आइसकेको छैन । प्रहरीले एक लाख म्यादी प्रहरीका लागि दर्खास्त दिन माग गरेको छ । एकसातासम्म म्यादी प्रहरी बन्न आवेदन दिन सकिनेछ ।

यसपटक म्यादी प्रहरीले नेपाल प्रहरीको मातहतमा रही ४० दिन खटिनेछन् । छनौट समितिले आवेदनहरुबाट योग्य व्यक्ति छानेपछि एक साता तालिम दिइनेछ ।

त्यसपछि उनीहरुलाई काममा खटाइनेछ । म्यादी प्रहरी छनौटका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति बनाइएको छ ।

समितिमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, नेपाली सेना र सशस्त्र प्रहरी बलको राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वा प्रहरी निरीक्षक सदस्य सचिव रहने प्रावधान छ ।

म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् ।

म्यादी प्रहरी भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइने भनिएको छ ।

२०७८ साउन १ गतेदेखि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले पनि प्राथमिकता पाउनेछन् ।

नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र विगतका निर्वाचनमा म्यादी प्रहरीका रुपमा काम गरेकाले पनि प्राथमिकता पाउने भनिएको छ ।

म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा विधि अपनाउने मापदण्डमा उल्लेख छ ।

मापदण्डमा उल्लेख भएअनुसार म्यादी प्रहरीले प्रहरी जवानको सरह सुविधा पाउनेछन् ।

प्रहरी प्रधान कार्यालयका एक अधिकृतका अनुसार ४० दिनमा उनीहरुको तलब ठाउँ अनुसार ३० हजारदेखि ७५ हजार रुपैयाँसम्म हुनसक्छ ।

 

सम्बन्धित खबरहरु