छ बर्ष अगाडि खारेजीमा गएको नेपाल बिकास बैंक खरिद गर्ने प्रस्ताव प्रभु बैंकले पठाएपछि नेपाल राष्ट्र बैंकमा अन्योल बढेको छ । प्रभुले पठाएको प्रस्तावलाई कसरी टुंगो लगाउने भन्ने बारेमा निर्णय गर्न राष्ट्र बैंकका अधिकारीहरुलाई गाह्रो परेको छ ।


डुबेको बैंकका शेयरधनीले रकम पाउँछन् भने त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ , तर यस प्रस्तावबारे के गर्ने भन्ने निर्णय भईसकेको छैन –राष्ट्र बैंकका प्रबक्ता मनमोहनकुमार श्रेष्ठले बताए ।

नेपालको बैंकिङ ईतिहासमा नेपाल बिकास बैंक खारेजीमा गएको पहिलो बैंक हो । यसरी खारेजी प्रक्रिया लगभग पुरा हुनै लागेको बैंक खरिद गर्ने भनी राष्ट्र बैंकमा प्रस्ताव परेको पनि पहिलो पटक हो । नौलो खालको प्रस्ताव भएकाले के गर्ने अन्योल भएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

नेपाल विकास बैंकमा १९ हजार ८ सय ६५ शेयरधनीको ३२ करोड रुपैयाँ फसेको थियो । ५ बर्ष नाघ्दा पनि बचतकर्ताकै निक्षेप रकम फिर्ता गर्न लिक्विडेटरलाई हम्मेहम्मे परेकाले शेयरधनीले रकम फिर्ता पाउने संभावना कम हुदै गएको थियो । प्रभु बैंकले नेपाल बैंकको सबै शेयर नौ करोड रुपैयाँमा किन्ने प्रस्ताव गरेको छ । शेयर नै लिन चाहने नेपाल बैंकका शेयरधनीलाई भने ६ कित्ता बराबर प्रभुको एक कित्ता शेयर दिईने प्रस्ताव गरिएको छ ।

नेपाल विकास वैंक संचालकहरुको बदमासीले समस्याग्रस्त भई ५ बर्ष अगाडि नेपाल राष्ट्र बैंकले विघटनमा लैजाने निर्णय गरेको थियो । २०६६ साल पुसमा पाटन पुनराबेदन अदालतले बैंक खारेज गर्ने राष्ट्र बैंकको निर्णयलाई सदर गरेपछि नारायण बजाजलाई लिक्विडेटर नियुक्त गरी बैंकको खारेजी प्रक्रिया अगाडि बढेको थियो । यद्यपी बजाज भन्दा अघि नियुक्त भएका लिक्विडेटर तीर्थराज उपाध्याय र स्वयं बजाजले बैंकलाई विघटनमा लैजानुभन्दा सुधार गरेर संचालनमा ल्याउनु उचित हुने सुझावसहितको प्रतिबेदन दिएका थिए र लगानीकर्ताहरु लगानी थप्न तयार थिए । अन्ततः २०५२ सालमा स्थापना भएको यस बैंकलाई विघटनमा लैजाने निर्णय गरेर राष्ट्र बैंकले नेपालमा पहिलो बित्तीय संस्था बिघटनको ईतिहास रचेको थियो ।

सबैका निक्षेप फिर्ता

उत्तम पुनलगायतका तत्कालीन संचालकहरुले नेपाल विकास बैंकलाई धराशायी बनाएपछि बैंक ६९ करोड घाटामा गएको थियो । बैंक समस्याग्रस्त हुँदाको समयमा संस्थागत तर्फ सेनाको मात्रै झण्डै १८ करोड निक्षेप फिर्ता गर्न बांकी थियो । कर्मचारी संचय कोषले पनि यस बैंकमा राम्रै रकम जम्मा गरेको थियो ।

लिक्विडेटर बजाजका अनुसार विघटन प्रक्रिया सुरु भएको ५ बर्षको अवधिमा सबै सर्वसाधारणले आफ्नो बचत फिर्ता पाईसकेका छन् । नेपाल सहकारीमा लगानी गरेको रकम फिर्ता हुन नसक्दा कर्मचारी संचय कोषको निक्षेप फिर्तामा समस्या देखिएको थियो ।

पुरानै ठाउंमा कार्यालय, ४ कर्मचारी

इस बैंकका कुनै समय काठमाडौ र पोखरामा भब्य महलमा कार्यालय थियो । कमलादीस्थित दीपक शेरचनको घरमा लिक्विडेटर बजाजको मातहतमा ४ कर्मचारीले नेपाल विकास बैंकको धुकधुकी बांकी नै रहेको झल्को दिईरहेका छन् । व्यवस्थापक, लेखापाल, कार्यालय सहयोगी र सुरक्षा गार्ड सहित चार जना कर्मचारीको काम नै खराव ऋणीहरुबाट रकम उठाउनु र निक्षेपकर्तालाई फिर्ता गर्नु रहेको छ । उनीहरुले निक्षेप र लगानीकर्ताको पीडा मिश्रित गुनासो सुन्दै आएका थिए ।

कुनै पनि बित्तीय संस्थालाई विघटनमा लैजानु र त्यसपछिका काम पुरा गरेर देखाउनु निकै चुनौतिपूर्ण र झण्झटिलो रहेको अनुभव नेपाल विकास बैंकको विघटन प्रक्रियामा सामेल कर्मचारीहरुले पाएका छन् । २०४५ साल देखि चार्टड एकाउन्टेण्ट संघको सदस्य समेत रहेका वजाजले पहिलो बित्तीय संस्थाको विघटनमा धेरै अनुभव संगालेको मेरोलगानीलाई बताएका थिए। बैंक विघटनमा संलग्न एक कर्मचारीले आफुले यस प्रक्रियामा सामेल हुँदा ब्यक्तिगत काम र परिवारसँगको घुलमिलबाट समेत बंचित हुनुपरेको तीतो अनुभव सुनाए । संस्थालाई विग्रिएर विघटनमा लैजाने बेलासम्म कुरेर बस्नु भन्दा बेलैमा राम्रो अनुगमन गरी बिग्रन नदिने प्रयास गर्नुपर्ने पाठ नेपाल विकास बैंक प्रकरणले राष्ट्रबैंकलाई समेत सिकाएको छ ।

सम्पति र दायित्व फस्छ्यौट गर्न समय लाग्दा विघटन प्रक्रिया पट्यारलाग्दो देखिएको मात्रै थिएन, बैंकका शेयरधनीहरुले आफ्नो रकम फिर्ता पाउने आशै मारिसकेका थिए । तर, अब प्रभुले किनेमा भने नेपाल बिकास बैंकका लगानीकर्ताहरुले आफुले पुनर्जन्म पाएको अनुभुति गर्नेछन् । प्रभुको सक्षम ब्यवस्थापनले किष्ट, ग्राण्डसँगै नेपाल बिकास बैंकलाई पनि आफुमा समाहित गरेर नेपालको बित्तीय क्षेत्रमा उदाहरण प्रस्तुत गर्ने जमर्को गरेको मान्न सकिन्छ ।

सम्बन्धित खबरहरु