काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गर्नुभएको हो ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेपछि उहाँ विवादमा आउनु भएको थियो । त्यसपछि संसदीय छानबिन समिति गठन भएर अनुसन्धान थालेको हो ।

तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिनुभयो । तर संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि उहाँले सफाई पाएर फेरि जिम्मेवारी पाउनु भएको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम शर्मालाई अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी सो पदमा नियुक्त गर्नुभएको हो । नवनियुक्त अर्थमन्त्री शर्माको शपथ ग्रहण आइतबार साँझ ५:३० बजे शीतल निवासमा हुनेछ ।

सम्बन्धित खबरहरु