काठमाडौं । उदयपुरको बेलका नगरपालिका–८ लाहुरेखोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेपछि सुनसरी बराहक्षेत्र नगरपालिकाका पाँच सय घरपरिवारका मानिस फसेका छन् ।

कोसीे नदीको बाँध फुटेर गाउँ पस्दा बराहक्षेत्र–६ र ९ का पाँच सय घरपरिवारका दुई हजार पाँच सयजना फसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

उनीहरु श्रीलङ्का टापुमा फसेको उहाँले बताउनुभयो । त्यस क्षेत्रका स्थानीयवासीलाई स्थानान्तरण गर्ने प्रयास गरे पनि उनीहरु आउन नमानेको र फसेकाहरु सुरक्षित रहेको बताएको सुनसरीका प्रजिअ यादवले बताउनुभयो ।

यसैबीच कटान गरिएको क्षेत्रमा १ नं प्रदेशका आन्तरिक मामिलामन्त्री केदार कार्की सहितले निरीक्षण गर्नुभएको छ ।

मन्त्री कार्की सहितको टोलीले कटान गरिएको स्थान, प्रभावितलाई उद्धार गर्ने तयारी लगायतको विषयमा निरीक्षण तथा अनुगमन गरिएको प्रजिअ यादवले बताउनुभयो । अहिले केही बेरमा प्रदेश विपत् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

बैठकले पीडितलाई तत्काल उद्धार, आवश्यक राहतको प्याकेज, स्थानान्तरण लगायतका विषयमा केन्द्रित हुने उहाँले जानकारी दिनुभयो ।रासस

पत्रकारको राष्ट्रिय परिचयपत्र बनाइने
जिल्ला प्रशासन कार्यालय ललितपुरमा आउँदो शनिबार पत्रकारहरुको राष्ट्रिय परिचयपत्र बनाइने भएको छ ।

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको आयोजनामा उक्त दिन जिल्लामा आबद्ध सदस्यहरुको परिचयपत्र बनाइदिएर सहजीकरण गर्न लागिएको हो । सो दिन बिहान ८ देखि १२ बजेसम्म जिल्लामा आबद्ध रहेका पत्रकारको परिचयपत्र बनाइने भएकाले अनिवार्य उपस्थितिका लागि शाखाका सचिव रामहरि कार्कीले अनुरोध गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “कामको व्यस्तताले गर्दा पत्रकारले यस पत्र बनाउन नभ्याएसँगै हामीहरुले उहाँहरुको समस्यालाई मध्यनजर गरी यस कामको सुविधा दिन लागेका हाँै ।” सो सेवा सदस्यहरुले पाएसँगै सम्बन्धित कार्यालयमा हुने दैनिक चाप र घण्टौँ बस्नुपर्ने लाइनको समस्याबाट पत्रकारहरु मुक्त हुने उहाँको बुझाइ छ ।

सो परिचयपत्र बनाउन आउँदा हरेक पत्रकारले अनलाइन फारम भरेको विवरणको प्रिन्ट तथा विवाहिताको हकमा सक्कल विवाह दर्ता गरेको प्रमाणपत्र एवं सक्कल नागरिकता र अविवाहिताले भने सक्कल नागरिकता अनिवार्य लिएर आउन सचिव कार्कीले आग्रह गर्नुभएको छ ।

सम्बन्धित खबरहरु